दोस्रो जेसिस एसईई अन्तरविद्यालय हाजिरीजवाफमा ब्राइट फ्युचर पहिलो

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलस्थित जेसिस इन्टरनेशनल स्कुलमा आयोजना भएको दोस्रो जेसिस एसईई अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगितामा नैकापस्थित ब्राइट फ्युचर मावि पहिलो भएको छ ।

शुक्रबार सञ्चालित प्रतियोगितामा बेसीक लर्नीङ्ग स्कूलले दोश्रो स्थान हात पार्दा चन्द्रागिरि स्कुल तेस्रो र सनसाइन स्कुल सान्त्वना स्थान हात पार्न सफल रह्यो।

आसन्न माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी गरिरहेका चन्द्रागिरि नगरका संस्थागत विद्यालयका विद्यार्थीहरूका लागि लक्षित गरि जेसिस स्कुलमा कक्षा १० मा अध्यापनरत विषयगत शिक्षकहरूको अग्रसरतामा सो प्रतियोगिता सञ्चालन गरिएको सो विद्यालयका प्रधानाध्यापक एवं प्याब्सन चन्द्रागिरि नगर अध्यक्ष सरोज महर्जनको भनाइ छ । प्रतियोगिताले परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरूको नतिजामा समेत थप निखारता आउन सक्छ, महर्जनले भने ।

यसअघि कार्यक्रमको उद्घाटन गर्दै चन्द्रागिरि नगरपालिका वडा नं. ११ का अध्यक्ष नरेन्द्रराज श्रेष्ठले विद्यार्थीहरूको ज्ञान, सिर्जनशीलता र प्रतिस्पर्धात्मक क्षमताको विकासका लागि यस्ता अतिरिक्त क्रियाकलापका कार्यक्रमहरू आवश्यक रहेको धारणा राखे ।

प्रतियोगितामा विजयी हुने विद्यार्थी तथा विद्यालयहरूका लागि चन्द्रागिरि नगरपालिका वडा नं. १० का अध्यक्ष शीव कुमार महर्जनले पुरस्कार वितरण गरे । सो क्रममा बोल्दै वडाध्यक्ष महर्जनले विद्यार्थीहरूको बौद्धिक विकास तथा प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धिका लागि विद्यालयहरूबीच सहकार्य आवश्यक रहेको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउन चन्द्रागिरि नगरपालिका तयार रहेको उल्लेख गरे ।

गत वर्षबाट सञ्चालन हुन थालेको प्रतियोगिताले विद्यार्थीहरूको ज्ञान तथा प्रतिस्पर्धात्मक क्षमतालाई प्रवर्द्धन गर्दै अन्तरविद्यालयीय सहकार्यको नयाँ अध्याय थपिने विश्वासका साथ प्रतियोगितामा सहभागिता जनाएका सम्पूर्ण विद्यालय, शिक्षक तथा विद्यार्थीहरूलाई विद्यालयले धन्यवाद् दिँदै आगामी दिनमा अझ उत्कृष्ट कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *