सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबलः सैनिक आवासीय महाविद्यालय फाइनलमा

थानकोट।
भक्तपुरको सैनिक आवासीय महाविद्यालय कीर्तिपुरमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
आइतबार सम्पन्न प्रतियोगिताको पहिलो सेमीफाइनल खेलमा मातातिर्थको ब्राईट होराईजन चिल्ड्रेन्स होममाथि २-१ को संघर्षपूर्ण जित हात पार्दै सैनिक आवासीय महाविद्यालय उपाधि नजिक पुगेको हो ।
सैनिकका लागि रोजित खत्री र सफल थापाले समान १-१ गोल गरेका थिए भने ब्राईट होराईजन चिल्ड्रेन्स होमका तर्फबाट विरेन्द्र उपाध्यायले १ गोल गरे । खेलमा सैनिक आवासीय महाविद्यालयका खेलाडी एलन थापा प्लेयर अफ दि म्यच चुनिए ।
उपाधिका लागि सैनिक आवासीय महाविद्यालयले सोमबार हुने दोश्रो सेमीफाइनल खेलको विजेतासँग फागुन ८ गते प्रतिस्पर्धा गर्नेछ ।
दोश्रो सेमीफाइनलमा भोलि सोमबार नेपाल एपीएफ स्कुल, कीर्तिपुरको ए टीम र नेपाल पुलिस स्कुल, साँगा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट १ र बाँकेको नेपाल एपीएफ कोहलपुरबाट १ गरि जम्मा १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको विजयी टिमले ६० हजार नगद प्राप्त गर्नेछ। दोस्रोले २० हजार रुपैयाँ पाउने छ भने तेस्रो टिमले १० हजार नगद प्राप्त गर्नेछ।
प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ ।