नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको दोश्रो पूर्ण बैठक आज बस्दै

थानकोट ।
सत्तारुढ दल नेकपा एमालेको चन्द्रागिरि नगर कमिटीको दोश्रो पूर्ण बैठक आज (शनिबार) बस्दैछ । सो पार्टीका नगर कमिटि अध्यक्ष उत्तम बहादुर राउतका अनुसार बैठक बिहान ११ः३० बजेका लागि डाकिएको हो ।
बैठक गुर्जुधारास्थित सो पार्टीको नगर कमिटिको कार्यालयमा बस्नेछ ।
बैठक पार्टीको ३ महिने जरा अभियानको तयारी, विभिन्न विभागहरूको गठन एवं जिम्मेवारी बाँडफाँड, नगर कमिटि मनोनयन लगायतमा केन्द्रीत रहने बुझिएको छ ।
आगामी चुनावमा एक्लै बहुमत ल्याउने लक्ष्य राखेर ‘मिसन–८४’ भनिरहेको नेकपा एमाले यतिबेला वडाकेन्द्रित अभियानमा जुटेको छ । उक्त अभियानलाई एमालेले ‘जरा अभियान’ भनेको छ । २०७९ मंसिरको चुनावमा अपेक्षित नतिजा नआएपछि एमालेले मिसन–०८४ अभियान थालेको थियो ।
- जरा अभियानमा एमालेले गर्ने काम
– सदस्यता नवीकरण र विस्तार (कूल मतदाताको ६ प्रतिशत लक्ष्य),
– टोल तहसम्म अधिवेशन गर्ने, कम्तीमा एक तिहाइ युवा समेट्ने,
– सबै जनसंगठनको सदस्यता व्यापक विस्तार गर्ने र सबै जनसंगठनलाई आफ्नो वर्ग/समुदायको नेताका रुपमा स्थापित गर्ने,
– सामाजिक सञ्जालका नियोजित सूचना र भ्रम चिर्दै पार्टीको पक्षमा प्रचार गर्ने,
– सबै कमिटी र जनप्रतिनिधिले आफ्नो प्रचार डेस्क स्थापना गर्ने र प्रचार गर्ने,
– वार्षिक कार्यक्रमलाई अगाडि बढाउने,
– एमाले नेतृत्वमा रहेको संघीय, प्रदेश र स्थानीय सरकारले गरेका राम्रा कामको प्रचार गर्ने,
– जनताका घर–आँगनसम्म पुग्ने, उनीहरूको सुझाव–गुनासो सुनेर समृद्धिको कार्यक्रम तयार पार्ने,
– २०८४ को चुनावमा एमालेलाई एकल बहुमत दिलाउने गरी राजनीतिक ध्रुवीकरण अभियान चलाउने, घर फर्क–पार्टी प्रवेश कार्यक्रममा जोड दिने,
– पार्टीको सिद्धान्त, कार्यक्रम र नीति बुझाउन प्रशिक्षण दिने, पार्टी नीतिको पक्षमा व्यापक जनमत बनाउने,
– ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न एमाले नेतृत्वको आवश्यकताबारे प्रचार गर्ने,
– र, तीन महिने अभियानको समीक्षाका आधारमा नियमित वैचारिक, संगठनात्मक र राजनीतिक कार्यक्रम तयार पार्ने ।