“काठमाडाैंमा हवाईजहाज उड्दा भूकम्प आयो भन्दै भागाभाग भयो”- भैरव रिसाल

थानकोट ।
काठमाडौं उपत्यकाको आकाशमा पहिलो पटक हवाईजहाज कहिले उड्यो ?
मैले सम्झेसम्म २००४ सालमा हो जस्तो लाग्छ। कति ठूलो आवाज आएको थियो भने, मानिसहरू आत्तिंदै कराएका थिए ।
गाईभैंसी उफ्रिंदै दाम्लो चुँडाएर, किला उखेलेर बुर्कुशी मारेका थिए।
त्यस बेला मेरो बसोबास भक्तपुरको दधिकोटमा थियो ।
१९९० सालको भूकम्प भोगेकाहरूलाई लागेछ, फेरि भूकम्प भयो ! गाउँलेहरू साना लालाबाला च्यापेर ‘राम राम’ भन्दै दधिकोटको चौरमा भेला भएका थिए ।
केटाकेटी डाँको छोडेर रोइरहेका थिए । ७७ वर्ष अघिको नेपालको शब्दचित्र हो यो।
त्यसपछि २००७ सालको कात्तिकमा राजा त्रिभुवन सपरिवार दिल्ली गएपछि राणाशासनको विरुद्ध पर्चा छर्न काठमाडौंको आकाशमा जहाजले चक्कर लगाएको थियो।
जहाजको गर्जन ठूलै थियो ।
त्यसबेला भने मानिसहरू आतंकित भएनन्।
जहाजकै प्रसङ्गमा अर्को एउटा रोचक घटना पनि छ ।
सुर्खेत उपत्यकामा जहाजको उडान हुन थालेपछि शुरुआतका झण्डै दुई वर्ष यात्रुका सामान जहाजबाट निकाल्न र राख्न मजदूर राख्नै परेन ।
विमान हेर्न आउने मानिसहरूले नै निःशुल्क झिक्ने–राख्ने काम गरे । चार्टर गरेका जहाजमा पनि उनीहरूले चामलका बोरा राखिदिए।
सित्तैंमा किन काम गरेको भनेर मैले ती मानिसलाई सोधेको थिएँ ।
जवाफ दिए, ‘पैसो नतिरी जहाजभित्र जान पाइयो भने त्यति सामान किन नराखिदिनु ? गाउँमा गएर म पनि जहाज चढेको छु भन्दा कत्रो इज्जत !’
सन्दर्भ सामाग्री
भैरव रिसाल
हिमालखबर
भिन्टेज नेपाल
फोटो म्युजियम नेपाल