सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल: सांग्रिला, सैनिक आवासीय र ब्राईट होराईजन विजयी

थानकोट ।
कीर्तिपुरस्थित नेपाल एपीएफ स्कुलमा जारी दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न खेलहरूमा सांग्रिला पब्लिक स्कुल, सैनिक आवासिय महाविद्यालय र ब्राईट होराईजन चिल्ड्रेन्स होम विजयी भएका छन् ।
दिनको पहिलो खेलमा जनसेवा मावि, कीर्तिपुरविरुद्ध सांग्रिला पब्लिक स्कुल ७-४ गोल अन्तरले विजयी भएको छ। सांग्रिला पब्लिक स्कुलका लागि गोरख तामाङ्ग, समिर खड्का र जीवन ब्लोनले समान २-२ गोल गरे भने विकेक शाहीले १ गोल थपे । पराजित जनसेवा माविका लागि मिलन सहकारीले ह्याट्रिक गर्दा र गोकर्ण बडवानले १ गोल गरे । खेलमा २ गोल गरेका जीवन ब्लोन यस खेलको म्यान अफ दि म्याच चुनिए ।
यसैगरी दिनको दोश्रो खेलमा धापाखेलको जेम्स स्कुलमाथि सैनिक आवासिय महाविद्यालय सल्लाघारी २-१ को संघर्षपूर्ण जित हात पार्नसफल भयो । सो क्रममा सैनिक आवासिय महाविद्यालयका लागि सफल थापा मगर र अविराज महतले समान १-१ गोल गरेका थिए भने जेम्स स्कुलको तर्फबाट सुभास हङ्ग मधेनले सान्त्वना गोल १ गोल फर्काए । गोलकर्ता सफल थापा मगर खेलमा म्यान अफ दि म्याच घोषित भए ।
दिनको तेस्रो तथा अन्तिम खेलमा नेपाल पुलिस स्कुल साँगामाथि मातातिर्थको ब्राईट होराईजन चिल्ड्रेन्स होमले ३-१ गोलको जित दर्ता गर्यो । ब्राईट होराईजनको जितमा प्रवेश शाही, विनोद गुरुङ्ग र सन्देश महत्तोले समान १-१ गोल गरेका थिए भने नेपाल पुलिस स्कुलको तर्फबाट दिप्सन पाण्डेले १ गोल गरेका थिए । हेमराज शाही यस खेलको म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिता अन्तर्गत शनिबार दुई खेल हुनेछन् । जहाँ नेपाल एपीएफ स्कुल कीर्तिपुरको क टीम ले नक्सालको राई स्कुलसँग प्रतिस्पर्धा गर्नेछ । दिनको दोश्रो खेमलमा नेपाल एपीएफ स्कुल कीर्तिपुरको बी टीमले कीर्तिपुरकै ग्रिन भिलेज एजुकेशन फाउण्डेशनको सामना गर्नेछ ।
प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट १ र बाँकेको नेपाल एपीएफ कोहलपुरबाट १ गरि जम्मा १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।
आइतबार सुरु भएको प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताको विजयी टिमले ६० हजार नगद प्राप्त गर्नेछ। दोस्रोले २० हजार रुपियाँ पाउने छ भने तेस्रो टिमले १० हजार नगद प्राप्त गर्नेछ।