चन्द्रागिरि नगरपालिका वडा ९ बन्यो नगरको नवाैं बालश्रम मुक्त वडा

थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नं. ९ मच्छेगाउँ बालश्रम मुक्त वडा घोषणा भएको छ ।
बुधबार एक कार्यक्रमका बीच नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिका वडा नं. ९ लाई बाल श्रममुक्त वडा घोषणा गरेका हुन् । सो समारोह अघि विद्यार्थी, स्थानीय जनप्रनितिधि, राजनीतिक दलका प्रतिनिधि, विभिनन संघसंस्थाका प्रतिनिधिहरू लगायत सम्मिलित सयाैं जनाले वडा परिक्रमा गरेको थियो । सो क्रममा विभिन्न नारा लगाइएका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख गिरीले नगरपालिकालाई बालमैत्री नगर बनाउने अभियान अनुसार ९ नम्बर वडालाई बालश्रममुक्त वडा घोषणा गरिएको बताए ।
कार्यक्रममा विभिन्न विद्यालयबाट सहभागी भएका बालबालिकाहरुले सन्देशमुलक नाटक तथा नृत्य प्रस्तुतसमेत गरेका थिए ।
कार्यक्रमको लागि बाल विकास समाज र वल्र्ड भिजन ईन्टरनेसनल नेपालले सहयोग गरेका थिए ।
कार्यक्रमको समापनमा वडा ९ का वडा अध्ययक्ष अच्युत अधिकारीले वडालाई बालश्रम मुक्त बनाउनका लागि सहयोग गर्ने सबैप्रति कृतज्ञ रहेको बताए । साथै उनले वडामा आगामी दिनमा पनि बालश्रम कसैले प्रयोग गरेको देखिएमा भेटिएमा वडामा खबर गर्न समेत सबैमा अनुरोध गरे ।
यसअघि चन्द्रागिरि नगरका विभिन्न ८ वडा बालश्रम मुक्त वडा घोषित भइसकेका छन् ।