सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल: लोक आदर्शको जितमा शिव थापाको ६ गोल

Thankot Times

थानकोट । 

कीर्तिपुरस्थित नेपाल एपिएफ स्कुलमा जारी  दोस्रो अन्तर विद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिता अन्तर्गत मंगलबार भएका दुई प्रतिस्पर्धामा लोकआदर्श एकेडेमी र ग्रिन भिलेज सेकेन्डरी विजयी भएका छन्। 

दिनको पहिलो खेलमा लोक आदर्श एकेडेमीले न्यु होराइजन एकेडेमीलाई  १०–१ गोल अन्तरले पराजित गर्यो ।

लोक आदर्शका लागि शिव थापाले दोहोरो ह्याट्रिक गर्दा आरध्य चौधरीले २, धनबहादुर साउद र रोशन खपाङ्गीले समान १-१ गोल गरे । 

खेलमा लोक आदर्श एकेडेमीका शिव थापा प्लेअर अफ द म्याच चुनिए । 

मंगलबार नै भएको दिनको दोश्रो खेलमा ग्रिन भिलेज सेकेन्डरी स्कुल विजयी भएको छ। लेबोरेटरी माध्यमिक विद्यालयले वाक ओभर दिँदा ग्रिन भिलेज विजयी भएको हो। 

प्रतियोगिता अन्तर्गत बुधबार पहिलो खेलमा पुष्प सदन कीर्तिपुर र राई स्कुल नक्सालले प्रतिस्पर्धा गर्नेछन्। दोस्रो खेलमा राराहिल मेमोरियल स्कुलविरुद्ध ग्रिन भिलेज एजुकेसन फाउन्डेशनले प्रतिस्पर्धा गर्नेछ। 

प्रतियोगितामा उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) १६, काभ्रे जिल्लाबाट १ र बाँकेको नेपाल एपीएफ कोहलपुरबाट १ गरि जम्मा १८ विद्यालयका १९ टिमले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गर्नेछन्।

आइतबार सुरु भएको प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको विजयी टिमले ६० हजार नगद प्राप्त गर्नेछ। दोस्रोले २० हजार रुपियाँ पाउने छ भने तेस्रो टिमले १० हजार नगद प्राप्त गर्नेछ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *