चन्द्रागिरिमा विकास आयोजना मेयरले आफ्नै घर नजिक लग्यो भन्ने आरोप छ- मेयर गिरी (भिडिवो)

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटमा सेटेलाइट परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल निर्माण गर्ने कार्यका लागि गरिएको वातावरणीय अध्ययन सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । 

मंगलबार बिहान चन्द्रागिरि नगर प्राथमिक अस्पतालमा परामर्शदाता एएफपीसी जीएफए कन्सोरटियम र ए नट आर्किटेक्चर एण्ड अर्किटेक्ट्स प्रालिले आयोजना गरेको सो कार्यक्रममा स्थानीयबासी, विभिन्न संघसंस्थाका प्रतिनिधि, चन्द्रागिरि नगरका मेयर, उपमेयर, नगरप्रवक्ता, सामाजिक विकास समिति संयोजक, जर्मन विकास बैंकका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । 

सो क्रममा स्थानीयले अस्पताल निर्माणका सन्दर्भमा विभिन्न प्रश्न गरेका थिए । स्थानीयले अस्पताल निर्माण हुनै लाग्दा सो क्षेत्रमा रहेको सार्वजनिक जग्गाको उपयोगिता, खानेपानीको मूल संरक्षण, सडकको व्यवस्थापन लगायतका विषयमा जिज्ञासा राखेका थिए । 

२५ शैयाको हुने भनिएको सो अस्पताल जर्मन विकास बैंकको आर्थिक एवं प्राविधिक सहयोगमा निर्माण हुने छ । तीन तल्लाको हुने सो भवन तथा अन्य संरचनाले ७ हजार १ सय ८७ दशमलव ८ वर्ग मिटर क्षेत्रफल अोगट्ने परामर्शदाता एएफपीसी जीएफए कन्सोरटियम र ए नट आर्किटेक्चर एण्ड अर्किटेक्ट्स प्रालिले जनाएको छ। यस्तै सो अस्पताल हातामा सनाठूला गरी २ सय थान सवारी साधन पार्किङ क्षमताको पार्किङ क्षेत्र निर्माण हुनेछ । अत्याधुनिक प्रविधिमैत्री हुने अस्पताल निर्माणका लागि ३ वर्षको समय लाग्ने परामर्शदाता कम्पनीको  ठम्याइ रहेको छ । करिब ६० करोड रुपैयाँमा अस्पतालको बाहिरी संरचना निर्माण हुनेछ भने करिब ४० करोड रुपैयाँ बराबरको भित्री संरचना तथा उपकरणका लागि छुट्याइएको छ । 

अस्पतालमा करिब २ सय जना जनशक्ति कार्यरत रहने मंगलबार आयोजित सार्वजनिक सुनुवाईका क्रममा जानकारी दिइयो ।

सार्वजनिक सुनुवाईका क्रममा नगरप्रमुख, उपप्रमुख, नगरप्रवक्ता लगायतले समेत आ-आफ्ना धारणा राखेका थिए ।

सो क्रममा नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगरपालिका-४ थानकोटमा प्रसुती एवं स्त्री रोग अस्पताल निर्माणपछि मोफसलबाट काठमाडाैं उपचारका लागि आउने बिरामीहरूले चक्रपथ भित्रका अस्पताल पुग्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिए । राजधानी भित्रने प्रमुख सडक नाका भएकै कारण विदेशी दाताहरू नगर क्षेत्रमा विकासका गतिविधिहरूमा हातेमालो गर्न इच्छुक रहने गरेको नगरप्रमुख गिरीको भनाइ थियो । 

फरक प्रसंगमा नगरप्रमुख गिरीले चन्द्रागिरि नगरमा ठूला-ठूला विकास आयोजनाहरू नगरप्रमुखको गृह वडा थानकोटमा सञ्चालन भइरहेको अझ नगरप्रमुखकै घर नजिकै बनिरहेको भन्ने आम बुझाइ रहेको भन्दै उनले चन्द्रागिरि नगरपालिकामा विकास आयोजना निर्माणका लागि सबैको सहयोग एवं धारणा बुझेरै स्थान चयन भइरहेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *