चन्द्रागिरिमा आजदेखि एचपीभी खोप अभियान सुरु हुँदै, ७० वटा खोप केन्द्र तय

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका क्षेत्रका करिब ६ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन आजदेखि एचपीभी खोप लगाउने अभियान सुरु हुँदैछ ।

चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम, एच.पी.भी. खोप अभियान सञ्चालनका लागि नगर क्षेत्रका सबै १५ वटै वडामा गरी जम्मा ७० वटा खोप केन्द्र तय गरिएका छन् ।

खोप अभियानको नगरप्रमुख घनश्याम गिरीले मंगलबार बिहान सुरुवात गर्ने कार्यक्रम रहेको चन्द्रागिरि नगरको स्वास्थ्य सेवा शाखाले जनाएको छ ।

नगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भूकुमार महतोका अनुसार नगर क्षेत्रका सबै सामुदायिक, संस्थागत विद्यालयका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब ६ हजार २०८ किशोरीलाई एचपिभी खोप लगाइनेछ ।

चन्द्रागिरि नगरका सामुदायिक र संस्थागत गरि ५३ वटा विद्यालयमा र १८ वटा स्वास्थ्य संस्थामा खोप अभियान सञ्चालन हुनेछ ।
नगरप्रमुख घनश्याम गिरीले यसअघि नै एक सन्देश जारी गर्दै नगर क्षेत्रमा सञ्चालन हुने एचपीभी खोप अभियानमा सहभागी भई निर्धक्कका साथ खोप लगाउन किशोरीहरुलाई आह्वान गरेका छन् ।


भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा सो खोप अभियान सुरु हुन लागेको हो ।

एचपिभी खोप लगाउँदा एचपिभी सङ्क्रमणबाट हुने क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने बताइएको छ ।

उक्त खोप एक मात्रा लगाएपछि पुग्ने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको संक्रमण रहेकाले त्यसका विरुद्ध खोप लगाउनुपर्ने महाशाखाको भनाइ छ ।

नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *