टाइगर कप भलिबल: महिलातर्फ न्यू डायमण्डकी सलिना उत्कृष्ट लिबेरो घोषित
थानकोट ।
पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी सरस्वती चौधरी उत्कृष्ट स्पाइकर घोषित भएकी छिन् ।
आइतबार पोखरामा सम्पन्न पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा एपीएफलाई उपविजेता बनाउन सफल चौधरी उत्कृष्ट स्पाइकर घोषित भएकी हुन् । यस्तै, एपीएफकी निरुता ठगुन्ना उत्कृष्ट सर्भर घोषित भइन् ।
प्रतियोगिताको उत्कृष्ट सेटर भने च्याम्पियन टिम टाइगर ग्रुप पोखराकी कप्तान अरुणा शाही घोषित भइन् ।
यस्तै, उत्कृष्ट ब्लकर टाइगर ग्रुपकी थाइल्याण्डकी खेलाडी नन टिखर र उत्कृष्ट लिबेरो न्यू डाइमण्डकी सलिना श्रेष्ठ घोषित भएकी छिन् ।
महिला टिमतर्फ उत्कृष्ट प्रशिक्षक भने च्याम्पियन बनेको टाइगर ग्रुपका अर्जुन घिमिरे घोषित भए ।
उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १० हजार ५५५ रुपैयाँ पाएका छन् ।