चन्द्रागिरिका करिब ६ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै, ७० स्थानमा खोप केन्द्र निर्धारण

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरका करिब ६ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप लगाइने भएको छ ।

चन्द्रागिरि नगरपालिकामा राष्ट्रिय खोप कार्यक्रम, एच.पी.भी. खोप अभियान माघ २२ गते मंगलबारबाट सुरु हुँदैछ ।

नगर क्षेत्रका विद्यालय जाने ६ देखि १० कक्षा सम्मका छात्राहरु तथा विद्यालय नजाने १० देखि १४ वर्ष उमेर सम्मका किशोरीहरुलाई निर्दिष्ट गरिएका खोप केन्द्रहरुबाट एच.पी.भी. खोप संञ्चालन हुन गईरहेको नगरपालिकाले जनाएको छ ।

गत शुक्रबार एक सूचना जारी गर्दै नगरले सम्बन्धित अध्ययनरत विद्यालय वा आफ्नो नजिकैको खोप केन्द्रबाट एच.पी.भी. खोप लगाउन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

एच.पी.भी. खोप अभियान सञ्चालनका लागि चन्द्रागिरि नगरले ७० वटा खोप केन्द्र तय गरेको छ ।

नगरका वरिष्ठ जनस्वास्थ्य अधिकृत शम्भूकुमार महतोका अनुसार नगर क्षेत्रका सबै सामुदायिक, संस्थागत विद्यालयका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब ६ हजार २०८ किशोरीलाई एचपिभी खोप लगाइनेछ ।

भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स (गाभी)को सहयोगमा सो खोप अभियान सुरु हुन लागेको हो ।

एचपिभी खोप लगाउँदा एचपिभी सङ्क्रमणबाट हुने क्यान्सरलाई ७० प्रतिशतले घटाउन सहयोग पुग्ने बताइएको छ ।

उक्त खोप एक मात्रा लगाएपछि पुग्ने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाले जनाएको छ।

पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरसको संक्रमण रहेकाले त्यसका विरुद्ध खोप लगाउनुपर्ने महाशाखाको भनाइ छ ।

नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *