नागढुङ्गा-मुग्लिन सडक खण्डको अनुगमन
थानकोट ।
प्रधानमन्त्रीको कार्यालयले नागढुङ्गा–मुग्लिन सडक खण्डको अनुगमन गरेको छ ।
प्रधानमन्त्रीको निर्देशनपछि जनसम्पर्क सल्लाहकार किरण पौडेल सहितको टोलीले सडकको अनुगमन गरेको हो ।
टोलीले निरीक्षणपछि एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्न निर्देशन समेत दिएको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत राजधानी काठमाडाैं प्रवेश गर्ने र बाहिरिने मुख्य खण्डका रूपमा रहेको यो सडक स्तरोन्नतिका क्रममा नागरिकले सास्ती खेप्दै आएका छन् । एक वर्ष भित्रमा निर्माण सक्नेगरी तालिका अद्यावधि गरेर काम गर्न आयोजना प्रमुखलाई आवश्यक निर्देशन दिइएको टोलीमा रहेका प्रधानमन्त्री कार्यालयका सिनियर डिभिजनल इञ्जिनियर मोहदेव भट्टले जानकारी दिए ।
झण्डै ९५ किलोमिटर दूरी रहेको यो खण्ड तीन चरण (प्याकेज)मा छुट्याएर स्तरोन्नति भइरहेको छ ।
पहिलो प्याकेजमा नागढुङ्गा–नौबिसे, दोस्रोमा नौबिसे–मलेखु र तेस्रोमा मलेखु–मुग्लिन रहेको छ ।
पहिलो प्याकेज अन्तर्गत नागढुङ्गा–नौबिसे १२ दशमलव २६ किलोमिटर, दोस्रोमा ४३ दशमलव ५४ र तेस्रोमा ३८ दशमलव ८६ किलोमिटर रहेको आयोजना कार्यालयले जनाएको छ ।
पहिलो प्याकेजको नागढुङ्गा–मुग्लिन खण्ड गएको जेठ २७ गतेभित्र सम्पन्न गर्ने गरी सम्झौता भएकोमा म्याद नाघेको आठ महिना भइसकेको छ । अहिले सम्म ६५ प्रतिशत काम भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका प्रमुख केदारप्रसाद नेपालले बताए ।
यो खण्डको स्तरोन्नतिका लागि एक अर्ब ३० करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो ।