टाइगर कप भलिबल: नैकापस्थित न्यू डायमन्ड स्पोर्ट्स क्लबको विजयी सुरुवात
थानकोट ।
पोखरामा शनिबारबाट सुरु भएको पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा चन्द्रागिरि नगरपालिका नैकापस्थित न्यू डायमन्ड स्पोर्ट्स क्लबले विजयी सुरुवात गरेको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालका आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा सुरु भएको प्रतियोगिताको पहिलो दिनको दोश्रो खेलमा न्यू डायमन्डले नेपाल पुलिस क्लबलाई ३-२ ले पराजित गर्यो ।
खेलमा न्यू डायमन्डले पाँचौं सेटमा १५-१० ले आफ्नो पक्षमा पार्दै विजयी सुरुवात गरेको हो ।
खेलमा डायमण्डले विभागीय टोली नेपाल पुलिस क्लबलाई १२-२५, २५-२३, २४-२६, २५-१८ र १५-१० गरि ३-२ को सेटमा पराजित गर्यो ।
पहिलो दिनको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डमाथि ३-२ सेटको पुनरागमन जित दर्ता गर्यो ।
पहिला दुई सेट गुमाएको एपीएफले पछिल्ला तीन सेटमा जित निकाल्दै खेल आफ्नो पक्षमा पार्यो ।
पहिलो दिनको तेश्रो खेल भने खराब प्रकाशका कारण बीचमा नै रोकियो । विभागीय टोली त्रिभुवन आर्मी क्लब र आयोजक टाइगर ग्रुपबीचको खेल खराब प्रकाशका कारण रोकिएको हो ।
यो खेल आइबार पुनः पहिलो सेटबाट नै शुरु हुने आयोजकले जनाएको छ । खेल रोकिदा आर्मी २-१ सेटले अघि थियो । तेश्रो सेटको समाप्तिपछि भने कम प्रकाशका कारण खेल रोकिएको हो ।
माघ १९ गतेसम्म जारी रहने प्रतियोगितामा २ विदेशीसहित महिला र पुरुषमा समान ६ टोलीको सहभागिता रहेको छ ।
विदेशी टोलीमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् ।
महिलातर्फ अन्य टोलीमा नेपाल एपीएफ क्लब, टिप टप न्यू डायमन्ड स्पोर्ट्स क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । यस्तै पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपीएफ क्लब रहेका छन् ।
प्रतियोगिताका दुवैतर्फको विजेता टोलीले समान ५ लाख ८५ हजार ५ सय ५५, दोश्रोले समान २ लाख ८५ हजार ५ सय ५५ र तेश्रो हुने टोलीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छन् ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७ सय ७७ रुपैयाँ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले समान १० हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन्।