भक्तपुरमा मोटरसाइकल र कार ठोक्किँदा आमाको मृत्यु, छोरी घाइते
थानकोट ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिका-२ सानो थिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको । सो दुर्घटनामा एक बालिका घाइते भएकी छिन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार बा. प्र ०१-०२७ च. ९२७ नम्बरको कार र बा. ५० प ७४१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार भोजपुरको पात्लेपानी गाउँपालिका-६ घर भई हाल काठमाडौँ पेप्सीकोला बस्ने २३ वर्षीया सपना राईको मृत्यु भएको हो ।
उनको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको हो ।
सो दुर्घटनामा मोटरसाइकलमै सवार तीन वर्षीया बालिका घाइते भएकी छिन् । उनीहरू आमा छोरी हुन् ।
कार चालक रामेछापको सुनापाती गाउँपालिका-१ घर भई हाल काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-४ बस्ने ३४ वर्षीय कृष्णप्रसाद गौतमलाई प्रहरीवृत्त थिमिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।