‘घाँस दाउरा गरेको वनमा चन्द्रागिरि हिल्सले प्रवेश शुल्क लिँदा हामी हेरेको हेर्यै’ वडाध्यक्ष अधिकारी
थानकोट ।
चन्द्रागिरि नगरपालिका-४ स्थित सामुदायिक वन क्षेत्रमा प्रवेश गरे बापत शुल्क उठाइएकोमा चन्द्रागिरि नगरपालिका वडा नं. ९ का वडाध्यक्षले आश्चर्य व्यक्त गरेका छन् ।
चन्द्रागिरि भञ्ज्याङ (चित्लाङ दोबाटो) हुँदै चखेल देउराली (रोप वे टर्मीनल क्षेत्र) पुग्न पैदल यात्रा गर्न खोज्दा चन्द्रागिरि हिल्स व्यवस्थापनले वन क्षेत्र प्रवेश बापत शुल्क लिएको भन्दै वडाध्यक्ष अच्युत अधिकारीले शनिबार सामाजिक सञ्जालमा प्रवेश शुल्कको टिकट समेत पोष्ट गरेका छन् । उनी चन्द्रागिरि नगरपालिका राजश्व समिति सदस्य समेत हुन् ।
वडाध्यक्ष अधिकारीले लेखेका छन्:
हामी वन जंगलमा घास दाउरा गरेको ठाउँमा ढाट र वोर्ड नै राखेर यसरी टिकटै काटेर रकम उठाउँदा पनि हामी हेरेको हेरै हुनुपर्ने अवस्थाको अन्त्य कहिले हुने, जिम्मेवार को ? मैले त जवाफ पाउन सकिन ! आम नेपालीलाई उत्तर कस्ले देला ? जिम्मवार को हुनु पर्ने होला ? भोलीका दिनमा अब कसैले सार्वजनिक बाटोमा ढाट राखेर पैसा उठाउन वास्तवमै छुट हुने हो ? कि यो फरक व्यवस्था पहुँच पुग्नेलाई मात्रै हो ???
उसो त भालेश्वर डाँडा (चन्द्रागिरि डाँडा) जाने क्रममा पैदल यात्रीहरूसँग चन्द्रागिरि हिल्सले १ सय रूपैयाँ शुल्क लिएपछि सो विषयका सन्दर्भमा चाैतर्फी आलोचना भएपछि चन्द्रागिरि हिल्स व्यवस्थापनले गत जेठ २९ मा वन कार्यालयका प्रतिनिधि एवं स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग सामुहिक छलफल गरि वन क्षेत्रमा प्रवेश शुल्क लिइनुको कारण सार्वजनिक गरेको थियो । यससँग सम्बन्धित समाचार पढ्नुहोस्ः
सामुदायिक वन प्रवेशमा १ सय रूपैयाँ लिएको विषयमा चन्द्रागिरि हिल्स को भनाइ के छ ?