काठमाडौंमा आज मौसम बदली रहने, पानी पर्ने सम्भावना भने कम

Thankot Times

थानकोट

देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । नयाँ मौसमी प्रणाली भित्रिँदा वर्षाको सम्भावना रहेको हो ।

“पश्चिम नेपालबाट हिजो साँझबाट नयाँ मौसमी प्रणाली भित्रिएको छ । जसका कारण आज वर्षा र हिमपातको सम्भावना छ,” मौसमविद् गोविन्द झाले भने । पश्चिम नेपालबाट पश्चिमी न्यूनचापीय प्रणाली नेपाल भित्रिएको हो ।

यो प्रणालीका कारण आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशसम्म वर्षा हुनेछ । त्यसबाट पूर्व भने यो प्रणालीको प्रभाव पर्नेछैन ।

“गण्डकी प्रदेशदेखि पश्चिम सुदूरपश्चिम प्रदेशसम्म वर्षा र हिमपातको सम्भावना छ । तर ठूलो वर्षाको सम्भावना भने छैन,” मौसमविद् झाले भने, “आज रातिसम्म मात्रै यो प्रणालीको प्रभाव रहनेछ । भोलि बिहानबाट यो प्रणाली हटिसकेर मौमस सफा हुन सुरु हुनेछ ।”

काठमाडौंमा आज मौसम बदली हुनेछ । तर वर्षाको सम्भावना नरहेको मौसमविद् झाको भनाइ छ ।

बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस छ । दिउँसो बढेर १७ देखि १९ डिग्री सेल्सियससम्म रहनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *