थानकोटमा युवतीमाथि चक्कु प्रहार प्रकरणः आरोपी युवाले दिए चक्कु प्रहार गर्नुको यस्तो बयान

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका थानकोटमा गत पाैष २६ गते एक जना युवतीमाथि चक्कु प्रहार भयो । चक्कु प्रहारबाट दाङ घर भएर थानकोट बस्ने २७ वर्षीय सरु मगर घाइते भइन् । उनको अहिले ट्रमा सेन्टरमा उपचार हुँदैछ ।

चक्कु प्रहार गर्ने रोल्पाको गंगादेवी गाउँपालिका घर भएका ३५ वर्षीय चन्द्र बहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योग मुद्धामा अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए ।

पीडित युवतीको घाँटीको पछाडिको भाग र अनुहारमा चोट लागेको छ । युवती र आरोपी पूर्व परिचित हुन् ।

चन्द्रबहादुर पाँच वर्ष साउदी अरबमा काम गरेर नेपाल फर्केका हुन् ।

सरुलाई आफूले विदेशबाट रकम पठाउने गरेको चन्द्रबहादुरले अनुसन्धान अधिकृतहरूलाई बताएका छन् ।

साउदीबाट फर्केपछि सम्पर्क गर्दा सरुले ‘चिन्दिनँ’ भनेपछि आवेशमा आरोपीले चक्कु प्रहार गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । चन्द्रबहादुरले बयानमा भनेका छन्, ‘सरुसँग पहिलादेखि नै चिनजान थियो, मैले विदेशबाट रकम पनि पठाइरहेको थिएँ ।’

युवतीले ‘बेवास्ता’ गरेपछि उनीहरूको बीचमा विवाद भयो ।

थानकोट बजारमा सरुको बहिनीको तरकारी पसल छ । पसलमा उनलाई भेटेर आरोपीले चक्कु प्रहार गरे ।

घाइते सरुलाई सुरुमा सतुङ्गलस्थित मेड प्वाइन्ट अस्पतालमा लगिएको थियो । मेड प्वाइन्टले रिफर गरेपछि उनलाई ट्रमा सेन्टरमा भर्ना गरिएको छ ।

थानकोट चोकमा शुक्रबार साँझ चक्कु प्रहारबाट एक महिला गम्भीर घाइते, आरोपित पक्राउ


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ