बलम्बुमा बहुप्राविधिक शिक्षालय तयार, माघ १ गते उपराष्ट्रपतिको उपस्थितिमा उद्घाटन गरिने
थानकोट ।
चन्द्रागिरि नगरपालिका र दक्षिण कोरियाको संस्था ड्रिम सेयरिङ फाउन्डेशन (सोड नेपाल) को आर्थिक एवं प्राविधिक सहयोगमा चन्द्रागिरि नगरपालिका वडा नं. १२ स्थित बलम्बुस्थित बलम्बु माध्यमिक विद्यालय हातामा निर्माण भएको बहुप्राविधिक शिक्षालयको माघ १ मा उद्घाटन गरिने भएको छ ।
करिब २ करोड ६४ लाख रुपैयाँको लागतमा तयार भएको भवनको उपराष्ट्रपति रामसहाय प्रसाद यादवले उद्घाटन गर्ने कार्यक्रम तय भएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ।
चन्द्रागिरि नगरपालिकाको ३० प्रतिशत र फाउन्डेशनको ७० प्रतिशत लागत सहभागितामा सो भवन तयार भएको हो ।
शिक्षालयमा पठन पाठनका लागि आवश्यक प्रयोगशाला, सामग्री, फर्निचर तथा औजारहरु जडानको कार्य सम्पन्न भएको छ ।
बलम्बु माविका प्रधानाध्यापक सुमन राउतका अनुसार यस भवन करिब ६ हजार वर्गफिट क्षेत्रमा बनेको हो।
प्राविधिक शिक्षा तथा व्यावसायिक शिक्षा परिषद् (सीटीइभीटी) अन्तर्गतको पाठ्यक्रममा आधारित ब्युटिसियन, इलेक्ट्रिसियन, अटोमोबाइल मर्मत र मोबाइल मर्मत मध्ये चार विधामा स्नातक तह बराबरको बहुप्राविधिक शिक्षालयमा सीप सिकाइने गरी प्रयोगशाला तयार भएको हो ।
शिक्षालयमा अध्ययनका लागि विद्यार्थीले ब्युटिसियन, इलेक्ट्रिसियन,अटोमोबाइल मर्मत र मोबाइल मर्मत मध्ये एक विधा रोज्नुपर्ने हुन्छ।
१२ महिनाभित्र निर्माण गरिसक्ने लक्ष्यसहित २०८० भदौ ६ मा यस शिक्षालय भवनको शिलान्यास गरिएको थियो ।