कमला कार्की स्मृति दिवसः नैकापस्थित बन्थःचा मिसा पूच १ लाख रुपैयाँसहित सम्मानित
थानकोट ।
चन्द्रागिरि नगरपालिका तीनथानास्थित कमला कार्की स्मृति प्रतिष्ठानले शनिबार नवाैं स्मृति दिवस मनाएको छ ।
ब्राइट फ्यूचर माविमा आयोजित एक समारोहका बीच प्रतिष्ठानले नवाैं स्मृति दिवसका अवसरमा विभिन्न व्यक्तित्व तथा संस्थाको सम्मान गरेको छ ।
प्रतिष्ठानले यस वर्ष चन्द्रागिरि नगरमा रही सामाजिक कार्यमा सक्रिय रहेको मूल्याकंन गर्दै हालै जेसिजको राष्ट्रिय उपाध्यक्षमा निर्वाचित थानकोटकी एलिना महर्जनलाई सम्मान गरेको छ ।
यस्तै, पत्रकार महिलातर्फ पुष्पा शर्मा सम्मानित भएकी छन् । खेलकुदतर्फ राष्ट्रिय, अर्न्तराष्ट्रिय पदक विजेता बक्सिङ खेलाडी ललिता महर्जन सम्मानित भएको प्रतिष्ठान द्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
प्रतिष्ठानले चन्द्रागिरि वडा नं. १४ मा बसोबास गर्ने सबैभन्दा ज्येष्ठ महिला धनमाया श्रेष्ठ र चन्द्रागिरि वडा नं. १५ मा बसोबास गर्ने सबैभन्दा ज्येष्ठ महिला जेष्ठ महिला बेली बेलबासेलाई सम्मानित गरेको हो । सम्मानित हुने सबैले जनही १५ हजार १ रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरे । यसैगरी महिलासँग सम्बन्धित संस्थातर्फ बन्थःचा मिसा पूच चन्द्रागिरि नगरपालिका-१४ सम्मानित भएको छ । पूचले १ लाख १ रुपैयाँ तथा प्रमाणपत्र प्राप्त गरेको छ । संस्थाले माैलिक बाजागाजा संरक्षण एवं प्रवर्द्धनको क्षेत्रमा विविधि कार्य सञ्चालन गरिरहेको छ ।
कमला कार्की स्मृति प्रतिष्ठानको नवाैं स्मृति दिवसमा सम्मानित भएका व्यक्ति तथा संस्थाहरूलाई महिला अभियन्ता एवं आमा घरकी संस्थापक दिलशोभा श्रेष्ठले सम्मान गरेकी हुन् ।
कार्यक्रममा सांसद् कृष्णगोपाल श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य केशव पोखरेल, चन्द्रागिरि नगर उपप्रमुख बसन्ती श्रेष्ठ, चन्द्रागिरि नगरपालिका वडा नं. १४ र १५ का वडाध्यक्ष क्रमश राजभाइ महर्जन र घनश्याम लुँइटेल लगायतको उपस्थिति रहेको थियो ।
चन्द्रागिरि नगरमा स्थायी बसोबास गर्ने ख्यातिप्राप्त पत्रकार महिला, खेलाडी महिला र सामाजिक क्षेत्रमा क्रियाशील महिला, चन्द्रागिरि वडा नं. १४ र १५ मा बसोबास गर्ने ज्येष्ठ उमेरकी एक-एक जना महिला र महिलासँग सम्बन्धित संस्थालाई कमला कार्की स्मृति प्रतिष्ठानले वर्षेनी सम्मान गर्दै आएको संस्थाले जनाएको छ ।
ब्राइट फ्यूचर माविका संस्थापक अध्यक्ष मोहनकुमार कार्कीले दिवंगत आमाको नाममा प्रतिष्ठान खडा गरेका हुन् ।