पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दिए भिडिवो सन्देश
पूर्वराजा ज्ञानेन्द्र शाहले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै नेपाल कसैको रणमैदान नभएको उल्लेख गरेका छन् ।
भिडियो सन्देशमार्फत जारी वक्तव्यमा उनले नेपालमा यति बेला सुनको कमण्डलु थापेर अरूसँग भिख माग्दै सीपको दुरुपयोग गर्ने काम भइरहेको उल्लेख गरेका छन् । ‘ समृद्धिको बाटो, अवलम्बन गर्नुपर्ने चनाखो वैदेशिक दृष्टिबारे राष्ट्रनिर्माताले स्पष्ट निर्देशन गरेको बाटोतर्फ हिँड्नुपर्छ,’ वक्तव्यमा भनिएको छ, ‘नेपाल कसैको रणमैदान होइन, शान्तिथलो बनाऊँ । साझा घर नेपाल, साझा थर नेपाली भन्ने विचार राख्दा नै राष्ट्रनिर्माताको आकांक्षा पूरा हुन्छ भन्ने हाम्रो धारणा हो ।’
नेपालीहरूले आफ्नो क्षमता चिन्न नसकेको पूर्वराजा शाहको भनाइ छ । पृथ्वीनारायणले दिव्योपदेशमा बताएका विषय लागू गर्नुपर्नेमा उनले जोड दिएका छन् । ‘राष्ट्रनिर्माता’का मार्गदर्शनलाई आत्मसात् गर्न सके नेपाललाई कसैले केही गर्न नसक्ने उनको दाबी छ ।