नेपाली क्रिकेट टिम घोषणा

थानकोट ।
नेपाल क्रिकेट संघ (क्यान) ले स्कटल्यान्डमा हुने विश्वकप लिग २ र त्यसअघि क्यानडाविरुद्धको वान-डे सिरिजका लागि नियमित कप्तान सन्दीप लामिछानेको नेतृत्वमा आइतबार १४ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेको छ ।
टिमको उपकप्तानमा रोहित पौडेल निरन्तर रहेका छन् । अलराउन्डर पवन सर्राफले पुनरागमन गरेका छन् भने बायाँ हाते स्पिनर वासिर अहमदले पहिलोपल्ट वान–डे टिममा स्थान पाएका छन् । अमेरिका भ्रमणको टिममा रहेका सागर ढकाल, सुसन भारी र सुनील धमला बाहिरिएका छन् । कुशल भुर्तेल, आरिफ शेख, देव खनाल, दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, करण केसी, सोमपाल कामी, आदिल अन्सारी, किशोर महतो र विनोद भण्डारी टिममा यथावत् छन् ।
नेपाली टिम क्यानडामा दुई वान-डे खेलेपछि स्कटल्यान्ड जानेछ, जहाँ घरेलु टिम स्कटल्यान्ड र नामिबियिाविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पहिलो खेल जुलाई ११ (नेपालविरुद्ध नामिबिया) हुनेछ । टिम मंगलबार क्यानडा प्रस्थान गर्नेछ ।