आज केहि भूभागमा वर्षा हुने मौसम विज्ञान विभागको पूर्वानुमान
थानकोट ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज साँझबाट पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव देखिने भएको छ ।
उक्त प्रणाली सक्रिय भएपछि वर्षा सुरु हुनेछ ।
यो वर्षको हिउँदको दोस्रो वर्षा आज रातिबाट सुरु हुने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ ।
कर्णाली प्रदेशका पहाडी क्षेत्रमा राति साधारणतया बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना छ ।
विभागका अनुसार बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।
तराईलगायत पहाडी भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ ।
सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।