उपप्रधान एवं सहरी विकास मन्त्री सिंहद्धारा थानकोट-चित्लाङ सडकको स्थलगत निरीक्षण
थानकोट ।
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले शनिबार निर्माणाधीन गणेशमान सिंह मार्ग (थानकोट-चित्लाङ सडक) को स्थलगत निरीक्षण गरेका छन्।
सो क्रममा उनले गुणस्तरीय निर्माणमा विशेष ध्यान दिन सम्बन्धित निकायका अधिकारीहरूलाई निर्देशन दिए ।
सोपछि थाहा नगरपालिका-९ चित्लाङ पुगेका उपप्रधान एवं सहरी विकासमन्त्री सिंहले नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्तासँग भेटघाट गरेका थिए भने स्थानीयले थानकोट-चित्लाङ सडकको दुरावस्था जानकारी गराएका थिए ।
सडक निर्माण कार्य शुरू भएको लामो समयसम्म पनि सम्पन्न नभएको भन्दै उनले चन्द्रागिरि-चित्लाङ सडक निर्माण कार्य छिट्टै सम्पन्न गर्न पहल गर्ने बताए। उनले निर्माण कार्यमा ढिलाई गर्न नहुने र विकासका काममा सबै मिल्नुपर्नेमा जोड दिए।
‘यो राजधानीसँग जोड्ने सबभन्दा छोटो मार्ग मात्र नभएर बागमती प्रदेशको राजधानी जोड्ने मार्ग पनि भएको कारणले गर्दा यसको आकर्षण बेग्लै किसिमको हुन्छ भन्ने लागेको छ,’ उपप्रधानमन्त्री सिंहले भने।
उनले विकासका लागि जनप्रतिनिधिको भूमिका मुख्य रहेपनि संघ, प्रदेश र स्थानीय तहमा जनप्रतिनिधिसँगे सबैको साथ जरूरी हुने पनि बताए। चुनावका क्रममा कुनै दलबाट उमेदवार बनेपनि जितेपछि जनप्रतिनिधिले आफ्नो कार्यकालभर जनतालाई केन्द्रविन्दुमा राखेर जनसरोकारका काम गर्नुपर्नेमा जोड दिए।
‘जनप्रतिनिधिलाई राम्रो काम गराउनका लागि स्थानीय वासिन्दाको पनि महत्त्वपूर्ण भूमिका रहन्छ। यो भएन, त्यो भएन भन्ने अधिकार पनि नागरिकलाई छ। तर, त्यसो भनेर बसेर मात्र भएन,’ उपप्रधानमन्त्री सिंहले भने, ‘राम्रो काम गराउनका लागि के गर्नुपर्यो भन्ने कुरा आम जनताले पनि आफ्नो जिम्मेवारीबोध गराउनसक्नुपर्छ, सबै मिल्नुपर्छ।’
उनले चन्द्रागिरि-चित्लाङ सडक बने सबै नागरिकले सुविधा पाउने भन्दै विकास निर्माणको काम सबैको साझा विषय भएको बताए।
उपप्रधानमन्त्री सिंहले ०४६ सालअघि भन्दा बहुदल आएपछि विकास निर्माणको कामले क्रमिक रूपमा गति लिईरहेको बताए।
अहिले केही पनि भएन गलत भाष्य बनाउन खोजिएको भन्दै उनले बहुदलपछि शिक्षा, स्वास्थ्य, सडकलगायतका पूर्वाधारमा उल्लेख्य विकास भएको बताए।