नेपाल प्रिमियर लिगकाे उपाधिका लागि आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दै
थानकोट ।
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।
यी दुई टिमबीचको उपाधि भिडन्त शनिबार (आज) कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्याह्न १२ बजेदेखि सुरु हुनेछ ।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको एनपीएलको विजेताले १ करोड १० लाख रुपैयाँ पुस्कार पाउनेछ । एनपीएलको उपविजेताले भने ५१ लाख रुपैयाँमा चित्त बुझाउनुपर्नेछ । एनपीएलमा तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख रुपैयाँ पाउने पक्का भएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुने एक जना खेलाडीले ओमोडाको कार पुरस्कार पाउने क्यानले यसअघि नै घोषणा गरिसकेको छ ।
मंसिर १५ बाट सुरु भएको प्रतियोगितामा विभिन्न ८ फ्रेन्चाइज टाेलीले सहभागिता जनाएका थिए ।