सतुङ्गलमा एक किशोरीको मृत्यु प्रकरणः हत्या आरोपमा एक युवा पक्राउ, अनुसन्धान जारी
थानकोट।
चन्द्रागिरि नगरपालिका सतुङ्गलमा बुधबार दिउँसो एक किशोरी मृत भेटिएपछि घटनाका बारेमा सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सतुङ्गल खरिबोटको एक घरमा किशोरी मृत फेला परेपछि बुधबार साँझ प्रहरी टोली प्राविधिकसहित घटनास्थलमा खटिएको थियो ।
धादिङ गजुरी गाउँपालिका वडा नम्बर ४ घर भई खरिबोटस्थित एक घरको भुई तलामा डेरा गरी बसेकी १७ वर्षीया सरिता तामाङको शव बुधबार दिउँसो १ बजे फेला परेको थियो ।
उनको हत्या आरोपमा प्रहरीले गजुरी गाउँपालिका वडा नम्बर ३ घर भई काठमाडौं महानगरपालिका वडा नम्बर १४ खड्का गाउँ बस्ने २४ वर्षीय विश्वास तामाङलाई पक्राउ गरेको छ।
सरिता सतुङ्गलस्थित एक विद्यालयमा कक्षा १० मा अध्ययनरत थिइन्। उनी मंसिर २९ गते मध्यराति देखि हराइरहेकी थिइन्। उनी बस्ने कोठामा बाहिरबाट ताला लगाइएको थियो।
आफ्नी बहिनी हराएको भन्दै सरिताका दाइले पुस १ गते दिउँसो प्रहरी वृत्त थानकोटमा खोजीका लागि निवेदन दिएका थिए।
सरिताको खोजी गर्ने क्रममा प्रहरी बुधबार अपराह्न ३ बजेतिर उनी बस्ने गरेको घरको कोठामा पुगेको थियो।
डेरामा बाहिरबाटै चुकुल लगाइएको कोठामा गन्ध आइरहेको थाहा पाएपछि खोलेर हेर्दा कोठामा रहेको खाटमुनि शव राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।
‘शव सडि गलिसकेको अवस्थामा थियो, हत्यापछि लो बेड मुनि राखेर बाहिरबाट ताला लगाएको देखिन्छ,’ उनले भने, ‘ताला लगाइएको हुँदा बहिनी बाहिर गएको होला भनेर दाइले सोचेको देखिन्छ।’
केही दिनसम्म कोठाभित्रै रहेको हुँदा शव गलिसकेको उनको भनाइ छ।
यस्तै हत्याको कारणबारे पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रहरीलाई दिएको प्रारम्भिक अनुसन्धानमा सामान्य विवादमा सरिताले गाली गरेर हातपात गरेको र त्यसक्रममा आफूले कुटपिट गरेको भनेर विश्वासले प्रहरीसमक्ष भनेका छन्। एसपी अधिकारीका अनुसार पक्राउ परेका विश्वास पनि मृतकका नातेदार पर्छन्।
प्रहरीले मृतकको मोबाइल पनि विश्वासबाट बरामद गरेको छ। शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।
पोष्टमर्टमबाट मृत्यु कसरी भएको भन्नेबारे खुल्ने प्रहरीले जनाएको छ।
घटनाका सम्बन्धमा प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बु र जिल्ला प्रहरी परिसर काठमाडाैंले अनुसन्धान अघि बढाएका छन् ।