कांग्रेसको १ सय दिने विशेष सांगठनिक अभियानः पाैष ५ मा चन्द्रागिरि आउँदै पूर्व महामन्त्री सिटाैला
थानकोट ।
सत्तारुढ दल नेपाली कांग्रेसको १ सय दिने विशेष सांगठनिक अभियान चन्द्रागिरि नगरपालिकामा समेत सञ्चालन हुने भएको छ ।
गत भदाै १६ गते सो पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीले २०८१ असोज १ गतेदेखि पौष १० गतेसम्म विशेष सांगठनिक अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तीव्रता दिन अभियान सञ्चालन भइरहेको हो। त्यस्तै अभियानका दौरान विधान बमोजिम मातहतका कार्यसमितिले नियमित गर्नुपर्ने बैठक, सम्मेलन, अभिमुखीकरण कार्यतालिका निर्माण लगायतका कार्य समयमै गर्न गराउन, अभिलेखीकरण र अभियानलाई चुस्त र प्रभावकारी बनाउन पनि नेपाली काँग्रेसले विभिन्न कार्यक्रम गरिरहेको छ ।
अभियान अन्तर्गत चन्द्रागिरि नगरमा पाैष ५ गते शुक्रबार सो पार्टीका पूर्व महामन्त्री एवं राष्ट्रिय सभा सदस्य कृष्ण प्रसाद सिटाैलाको उपस्थितिमा नगर भेला आयोजना हुने नेपाली काँग्रेस चन्द्रागिरि नगर कमिटि सचिव राजेन्द्र महर्जनले जानकारी दिए ।
नगर सभापति एवं चन्द्रागिरि नगरका मेयर घनश्याम गिरीको निजी निवास थानकोटमा सो भेला आयोजना हुने बताइएको छ ।