नैकाप क्षेत्रमा चोरीका घटना बढ्दो, चार दिनको अन्तरमा १९ लाख बराबरको धनमाल चोरी
थानकोट ।
चन्द्रागिरि नगरपालिका नैकाप क्षेत्रमा पछिल्लो चार दिनमा फरक फरक घटनामा १९ लाख रुपैयाँ बराबरको धनमाल चोरी भएका छन् ।
मैनु डिन मियाको घरमा सोमबार दिउँसो चोरी भएको छ ।
प्रहरीका अनुसार नगद ५० हजार रुपैयाँ, अन्दाजी ३ तोला बराबरको सुनको विभिन्न गरगहना र १ थान मोबाइल समेत गरी करिब ५ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
यसअघि नैकापमा शुक्रबार पनि चोरी भएको थियो सो स्थानमा डेरा गरी बस्ने गुल्मी रुरु गाउँपालिका-३ घर भएका ४० वर्षीय लिलाधर ज्ञवालीको कोठामा चोरी भएको हो ।
शुक्रबार दिउँसो सुन तथा चाँदीका विभिन्न गरगहना र नगद ७० हजार रुपैयाँ गरी करिब १४ लाख ६१ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको थियो ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।