मैत्रीनगरमा मीनबहादुर गुरुङले दिएको जग्गामा एमालेको पार्टी कार्यालय बनाउने बाटो खुल्यो
थानकोट ।
चन्द्रागिरि र कीर्तिपुर नगरको सीमा क्षेत्र मैत्रीनगरमा व्यवसायी मीनबहादुर गुरुङले दिएको जग्गामा नेकपा एमालेको पार्टी कार्यालय बनाउने बाटो खुलेको छ ।
भाटभटेनी डिपार्टमेन्ट स्टोरका मालिक समेत रहेका गुरुङबाट एमालेले जग्गा दानमा लिनु गैरकानूनी रहेको दाबी गर्दै सर्वोच्च अदालतमा परेको रिट सोमबार खारेज भएसँगै एमालेलाई कार्यालय बनाउने बाटो खुलेको हो ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले अधिवक्ता ज्ञानबहादुर बस्नेत समेत तीन जनाले दिएको रिट खारेज गरेको हो ।
एमालेको केन्द्रीय कार्यालय निर्माणका लागि गुरुङले कीर्तिपुर नगरपालिकाको-२ मैत्रीनगरमा १० रोपनीभन्दा धेरै जग्गा दानमा दिएका थिए ।
गत असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको उक्त जग्गामा बन्ने केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका थिए । उक्त भवन १ वर्षभित्र निर्माण गरेर एमालेलाई हस्तान्तरण गर्ने गुरुङले प्रतिबद्धता जनाएका छन् ।
त्यसपछि सर्वोच्चमा रिट दायर भएको थियो ।