आज ज्यापु दिवस, योमरी पुन्ही तथा धान्यपूर्णिमा

Thankot Times

थानकोट ।

धान्यपूर्णिमा, उधौली पर्व र ज्यापु दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

हिन्दु धर्मावलम्बीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदाय योमरी पूर्णिमा र ज्यापु दिवस मनाउन व्यस्त छन् ।

सरकारले आज देशभर सार्वजनिक बिदासमेत दिएको छ ।

पहाडी क्षेत्र र अन्य स्थलमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाउँछन् ।

यसैगरी नेवार समुदायले चामलको पिठोबाट बनाएको परिकार विशेषलाई चाकुसँगै खाने पर्वका रुपमा योमरी पूर्णिमा मनाउँछन् ।

योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादका रुपमा खाने-खुवाउने चलन छ ।

नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर योमरी बनाइन्छ । यसलाई गणेश र कुमारको प्रतीकको रुपमा पनि पूजा गरिन्छ । यस दिनलाई ज्यापु दिवसका रुपमा समेत मनाउने गरिन्छ ।

०६१ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले यसलाई राष्ट्रिय दिवसको मान्यता दिएको थियो ।

यसै गरी किराँत समुदायले उधौली पर्व मनाउँदै छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस्, खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउने परम्परा छ ।

पूजापछि साकेला नाचिन्छ ।

वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किराँत समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ ।

फाइल तस्बिर


Leave a Reply

Your email address will not be published. Required fields are marked *