मैत्रीपूर्ण खेलमा महानगर प्रमुख बालेनको टोली ५-२ ले विजयी, बालेनले गरे १ गोल

Thankot Times

थानकोट ।

काठमाडौं महानगरपालिकाको ३० औं महानगर दिवसको अवसरमा बिहीबार आयोजित मैत्रीपूर्ण फुटबल खेलमा प्रमुख बालेन्द्र शाह (बालेन) ले उत्कृष्ट प्रदर्शन गर्दै एक गोल गरेका छन्।

सैनिक मुख्यालय भद्रकालीको मैदानमा आयोजित खेलमा प्रमुख-११ को टोलीले प्रशासकीय अधिकृत-११ लाई ५-२ ले पराजित गर्‍यो।

खेलको दोस्रो हाफमा प्रमुख शाहले गरेको गोलले मैदानमा उत्साह थप्यो। उनको नेतृत्वमा जनप्रतिनिधिको टोलीले लगातार दबाब सिर्जना गर्दै जित हात पारेको थियो।

खेलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँको नेतृत्वमा प्रशासकीय टोलीले पनि राम्रो प्रदर्शन गरे पनि जित हासिल गर्न सकेन।

प्रमुख ११ तर्फबाट बालेनसहित सन्तोष ढुङ्गेल, नविन भण्डारी, विनय शाक्य, र अनुप मगरले १-१ गोल गरेका थिए। प्रशासकीय अधिकृत ११ का लागि राजु पौडेलले २ गोल गरेका थिए।

महानगर दिवसलाई थप विशेष बनाउन भोलि परम्परागत बाजा गुरु सम्मान, विद्यार्थीस्तरीय हाजिरीजवाफ प्रतियोगिता, र शिक्षकस्तरीय कविता वाचन प्रतियोगिताका विजेताहरूलाई सम्मान गरिनेछ।

मंसिर २९ गते बिहान ८ बजे टुँडिखेलमा हुने औपचारिक कार्यक्रममा सांस्कृतिक झाँकी प्रदर्शन, मौलिक परिकारका स्टल, र विभिन्न वस्तुहरूको प्रदर्शनी हुनेछ।

साँझ सांगीतिक प्रस्तुतीले दिवसको समापन हुनेछ।

तस्बिरः काठमाडौं महानगर


Leave a Reply

Your email address will not be published. Required fields are marked *