कीर्तिपुर नगरमा मेयर कृष्णमान डंगोलको इन्ट्री, पदबहाली लगत्तै भए तीन वटा निर्णय

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकाका नवनिर्वाचित मेयर कृष्णमान डंगोलले पदबहाली गरेका छन् । शुक्रबार नगरप्रमुख पदको शपथ लिएपछि मेयर डंगोलले पदबहाली गरेका हुन् ।

मंसिर १६ मा सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा डंगोल कीर्तिपुर नगरको मेयर पदमा निर्वाचित भएका थिए ।

मेयर डंगोललाई काठमाडाैं जिल्ला न्यायाधीश कमल प्रसाद पोखरेलले शुक्रबार एक समारोहका बीच शपथ गराएका हुन् । सो क्रममा संघीय सांसद् राजेन्द्र कुमार केसी, बागमती प्रदेश सभा सदस्य पुकार महर्जन लगायतको उपस्थिति रहेको थियो ।

सो लगत्तै मेयर डंगोल नगर कार्यपालिकाको कार्यालय पुगि पदबहाली गरेका थिए ।

मेयर डंगोललाई नगर उपप्रमुख शुभलक्ष्मी शाक्य, प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकाल, नगरका कार्यपालिका सदस्य, नगर सभासदस्यहरू तथा नगरका कर्मचारीहरूले स्वागत गरेका थिए ।

पदबहालीसँगै मेयर डंगोलले तीनवटा निर्णयमा दस्तखत गरेका छन् ।

कीर्तिपुर नगरका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद ढकालका अनुसार मेयर डंगोलले विष्णुदेवी अस्पताललाई २४सै घण्टा आकस्मिक सेवा दिने गरी अस्पतालको स्तरोन्नति गर्ने, नगरबाट प्रवाह हुने सेवाहरू प्रविधिमैत्री बनाउने र नगर क्षेत्रमा सूचना प्रविधि विषय अध्ययनरत विद्यार्थीहरूका लागि प्रोत्साहन गर्न छात्रवृत्तिको व्यवस्था गर्ने विषयमा निर्णय गरेका हुन् ।

तत्कालीन नगरप्रमुख राजकुमार नकर्मीको निधपछि गत साउन १० पछि कीर्तिपुर नगरपालिकामा नगरप्रमुख पद रिक्त भएको थियो ।

सबै तस्बिरः नगरप्रमुखको फेसबुक पेज


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ