नेपाल प्रिमियर लिगः काठमाडौंविरुद्ध चितवनको सहज जित
थानकोट ।
चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो खेलमा काठमाडौं गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको छ ।
सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले प्रस्तुत गरेको ११२ रनको सामान्य लक्ष्य चितवनले १७.१ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो ।
चितवनको जितमा सन्तोष कार्कीले अविजित २८ रन बनाए ।
सन्तोषले ३१ बलमा समान दुई चौका र एक छक्का प्रहार गरे ।
६८-५ को कठिन स्थितिबाट सन्तोषले अनुभवी नेपाली ब्याटर शरद भेषवाकरसँग ४६ रनको साझेदारी गर्दै चितवनलाई जितसम्म डोहोर्याए ।
त्यसअघि चितवनका पाकिस्तानी बलर सोहेल तान्विरले घातक बलिङ गर्दा टस हारेर ब्याटिङमा आएको काठमाडौंले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १११ रनको सामान्य योगफलमा रोकिएको थियो ।
चितवनविरुद्ध निरीह देखिएको काठमाडौंका चार ब्याटरले मात्रै दोहोरो अंकमा रन जोडे ।
काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए ।
माइकल लेभिटले २५ रन थप्दा डान डोउथह्वाइटले १९ र शंकर रानाले १६ रन जोडे ।
यसबाहेक, अन्य ब्याटर प्रदर्शन उल्लेख्य रहन सकेन । काठमाडौंको ब्याटिङ धरासायी बनाउन चितवनबाट खेलिरहेका पूर्वपाकिस्तानी बलर तान्विरले पाँच विकेट लिए ।
प्रतियोगिता अन्तर्गत सोमबार नै जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ ।