नेपाल प्रिमियर लिगः चितवन र काठमाडौंबीचको खेल जारी, नेपाली खेलाडीको कमजोर प्रदर्शन
थानकोट ।
काठमाडाैंमा जारी नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा चितवन राइनोजविरुद्ध काठमाडौं गुर्खाज १११ रनमै रोकिएको छ ।
पाकिस्तानका पूर्वबलर सोहेल तान्विरले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत सोमबारको पहिलो खेलमा काठमाडौं गुर्खाज १११ रनमै समेटिएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको काठमाडौंले निर्धारित २० ओभर ब्याटिङ गरे पनि नौ विकेट गुमाएर १११ रनको सामान्य योगफल खडा गर्यो ।
यो सँगै चितवनले जितका निम्ति ११२ रनको लक्ष्य पाएको छ ।
चितवनविरुद्ध निरीह देखिएको काठमाडौंका चार ब्याटरले मात्रै दोहोरो अंकमा रन जोडे । काठमाडौंका सुमित महर्जनले सर्वाधिक २९ रन बनाए । माइकल लेभिटले २५ रन थप्दा डान डोउथह्वाइटले १९ र शंकर रानाले १६ रन जोडे ।
आजै हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुने तालिका छ । यो खेल दिउँसो १ः१५ बजेबाट सुरु हुनेछ ।