चन्द्रागिरि नगरपालिकालाई ‘सिविन-नेपाल राष्ट्रिय बालअधिकार’ सम्मान
थानकोट ।
सिविन-नेपाल राष्ट्रिय बालअधिकार सम्मान-२०८१ बाट चन्द्रागिरि नगरपालिका सम्मानित भएको छ।
बालअधिकार संरक्षण तथा प्रवर्द्धनका क्षेत्रमा नगरपालिकाले अतुलनीय काम गरेको जनाउँदै सिविन नेपालले बुधबार सिविनको कार्यालय रवीभवनमा आयोजित ३७ औं वार्षिकोत्सव कार्यक्रममा सो सम्मान गरेको हो।
चन्द्रागिरि नगरपालिकाले जोखिममा रहेका बालबालिकाको अपत्कालीन सहयोगका लागि ‘बालकोष’ स्थापना गरेर सेवा प्रदान गरिराखेको छ।
हालसम्म चन्द्रागिरि नगरपालिकाले आफ्ना १५ वडामध्ये विभिन्न ८ वटा वडालाई ‘बालश्रममुक्त वडा’ घोषणा गरिसकेको छ।
चन्द्रागिरि नगरपालिकाका उपप्रमुख वसन्ती श्रेष्ठले सो सम्मान ग्रहण गर्दै आगामी दिनमा बालअधिकार संरक्षण तथा प्रवर्द्धन लागि थप आवश्यक नीति तथा कार्यान्वयन गरिने जानकारी दिइन।
सबै तस्बिरः सिविन नेपाल