नागढुङ्गा सुरुङ मार्ग निर्माणको कार्य पुनः अवरुद्ध

Thankot Times

थानकोट ।

राष्ट्रिय गाैरवको परियोजना नागढुंगा-सिस्नेखोला सुरुङमार्गको निर्माण कार्य पुनः स्थगित भएको छ । सुरुङमाथिको जग्गाको पनि मुआब्जा दिइयोस् भन्दै स्थानीयले आयोजना निर्माणमा अवरोध गरेका हुन् ।

चन्द्रागिरि नगरपालिका-२ वाडभञ्जायङका स्थानीयले सुरुङ मार्गको काम रोकेका हुन् ।

सुरुङमार्गको माथिपट्टि पर्ने जग्गामा बनेका ७ वटा घर चर्किएपछि नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले तिन संरचनाको पनि क्षतिपूर्ति दिने प्रक्रिया अघि बढाएको छ । तर स्थानीयको माग छ- घरसँगैको जग्गाको पनि मुआब्जा दिनुपर्छ ।

आइतबारबाट मुआब्जाको कुरा निकालेर स्थानीयले धादिङ र काठमाडौंतर्फ सुरुङको काम ठप्प बनाएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए । उनका अनुसार बलम्बुनजिकै निर्माण भइरहेको फ्लाइओभरको काम पनि रोकिएको छ ।

मुआब्जाको विषयलाई लिएर आयोजनाको काम बन्द गरिएको जानकारी पाए पनि मन्त्रालय तहबाटै यसको समाधान खोजिनुपर्ने चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीको भनाइ छ ।

नेपाल सरकार, सडक विभाग, भू-गर्वविद् साथै आयोजना प्रमुखसँगको पटक पटकको औपचारिक र अनौपचारिक छलफलमा नजिर बस्छ मुआब्जा दिन मिल्दैन भन्ने जवाफ पाएकाले सोहि जवाफको विरुद्ध आन्दोलन गर्न बाध्य भएको पिडित संघर्ष समितिका एक सदस्यले जानकारी दिए ।

सुरुङ खन्दा आफ्नो जग्गा कमसल हुँदै गएको, वित्तीय कारोबार हुन नसक्ने अवस्थामा पुगेको, भौगोलिक कमजोरीका कारण किनबेच नभएकोले राज्य संयन्त्रबाट खुलखुल्ला सुकुम्बासी बनाउने कार्य भएको पीडितहरूको आरोप छ ।

यस अघिपनि सुरुङमार्गको निर्माणले पानीको मुहान सुकेको, वाताबरण प्रदूषण भएको, स्थानीयलाई रोजगारीको व्यवस्था गर्नुपर्ने, उचित क्षतिपूर्ति र मुआब्जाको व्यवस्था गर्नुपर्ने लगायतका माग स्थानीयले राख्दै सुरुङमार्ग आयोजनालाई आफ्नो दुखेसो पोखेका थिए भने पटक पटक निर्माण कार्य ठप्प पार्दै आन्दोलन समेत गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *