अफवाह फैलाउने १० वटा युट्युब च्यानलमाथि प्रेस काउन्सिल नेपालको कारबाही
थानकोट ।
अपुष्ट र भ्रमपूर्ण सामाग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहित सामाजिक सञ्जाललाई सोमबार कारबाही गरेको छ ।
तीमध्ये अधिकांश दर्ता/सूचीकरण नगरी सञ्चालित छन् । मिडिया अन्तरगत दर्ता सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाललाई काउन्सिलले अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरेको छ ।
काउन्सिलले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको समेत विशेष अनुगमन गरिरहेको छ । सो क्रममा सामाजिक सञ्जालबाट घृणा तथा द्वेष फैलाउने किसिमबाट अपुष्ट, आधारहीन, एकपक्षीय आरोपसहितका सामाग्रीमाथि अनुगमन भइरहेको सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।
गलत, भ्रमपूर्ण, अफवाहपूर्ण, पक्षपोषणयुक्त, गालीगलौजपूर्ण र अतिरञ्जित सामग्रीलाई प्राथमिकतासहित स्थान दिई प्रकाशन/प्रसारण गर्ने युट्युबमाथि काउन्सिलले पछिल्लो समय कार्यविधि बनाई कारबाही प्रक्रिया अघि बढाएको छ ।