दसौं राष्ट्रिय उद्योग दिवसः सतुङ्गलस्थित ओम फूड प्रोडक्टलाई उत्कृष्ट उद्यमी पुरस्कार
थानकोट ।
काभ्रेपलाञ्चोक जिल्लास्थित झ्याम्बल कृषि फर्म उद्योग प्रालिले बागमती प्रदेशकै सर्वोत्कृष्ट उद्यमी पुरस्कार प्राप्त गरेको छ ।
दसौं राष्ट्रिय उद्योग दिवसका अवसरमा बागमती प्रदेशको उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयले आयोजना गरेको नवप्रवर्द्धन उद्यमी सम्मान कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उद्योगकी सञ्चालक कमला लामालाई नगद एक लाखसहित सर्वोत्कृष्ट उद्यमीका रुपमा सम्मान गरेका थिए । भोगटेको बोक्राको सेतो भागबाट क्यान्डी उत्पादन गर्दै आएको उक्त उद्योगले १५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका उत्कृष्ट उद्यमीलाई नगद ४० हजार रुपैयाँसहित सम्मान गरिएको थियो । उत्कृष्ट उद्यामी सम्मान पाउनेहरुमा मकवानपुर जिल्लाबाट हेटौंडा-१५ स्थित कोम्हेन्दो एकीकृत कृषि फार्म, निलकण्ठ नगरपालिका–८, धादिङस्थित युनिक पशुपन्छी तथा कृषि फार्म, रसुवा जिल्ला उत्तरगया गाउँपलिका–५ मा रहेको रसुवा एसएस टेलर्स एण्ड स्यानेटरी प्याड तथा माक्स उद्योग रहेका छन् ।
दूधौली नगरपालिका–४, सिन्धुलीस्थित वरपिपल दुना टपरी उद्योग, चन्द्रागिरि नगरपालिका–११, काठमाडौंको ओम फूड प्रोडक्ट, ललितपुर बागमती गाउँपालिका-१ को सिर्जनशील कृषि फार्मले पनि उत्कृष्ट उद्यमी पुरस्कार पाएका छन् ।
गौरीशंकर गाउँपालिका–५, दोलखाको सुरी मौरीपालन तथा घार उद्योग, नुवाकोट जिल्लास्थित नवयुवा कृषि फार्म, भक्तपुरको लक्ष्मी चिउरा उद्योग उत्कृष्ट उद्योगका रुपमा सम्मानित भए ।
सिन्धुपाल्चोकको कफी सहकारी उद्योग, रामेछापको मन्थली डिलक्स एग्रो फरेस्टी र काभ्रेपलाञ्चोकको बीजेएस ह्याण्डीकाफ्रट एण्ड पनौती सेभियर हाउस रहेका छन् ।