हाइभीजन कोलोनी बस्दै आएका नक्कली सिंगापुरे लाहुरेको पछि लाग्दा युवतीको २७ लाख चट्
थानकोट ।
फेसबुकमा नक्कली आइडी बनाएर युवतीलाई लाखौं ठगी गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ।
चन्द्रागिरि नगरपालिका हाइभिजनमा बस्दै आएका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
ती पुरुषले एक युवतीलाई फेसबुकमा नक्कली आइडी बनाएर २७ लाख ८३ हजार २०० रुपैयाँ ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
उनका अनुसार ती पुरुष आफू फ्रान्स र सिंगापुरको लाहुरे रहेको भन्दै ती युवतीसँग चिनजान गरेका थिए। लाहुरेको कमाई आकर्षक हुने भएकाले गण्डकी प्रदेशकी ती युवती लोभिइहालिन्।
‘तिमीलाई मन पराउँछु, बिहे गरेर सिंगापुर लैजान्छु, सिंगापुर लैजानका लागि कागजातहरू बनाउनुपर्छ,’ ती पुरुषलाई उद्धृत गर्दै प्रहरी उपरीक्षक आचार्यले भने, ‘त्यसबापत पैसा लाग्छ।’
ती पुरुषले ती युवतीलाई काठमाडौं र चितवनका विभिन्न स्थानमा बोलाएका थिए। आफ्नो हुलिया एवम् परिचय परिवर्तन गरी उनले चेक तथा नगद १६ लाख ८३ हजार ६ सय रुपैयाँ असुले।
त्यस्तै, विभिन्न व्यक्तिको नाममा रहेका २६ वटा इ-सेवा वालेटहरूमा १० लाख ९९ हजार ६ सय रुपैयाँ जम्मा गर्न लगाए।
रकम असुलेपछि ती पुरुष बेपत्ता भए। यसपछि युवतीका आफन्त प्रहरी कहाँ पुगेका थिए।
जाहेरी परेपछि प्रहरीले ती पुरुषको खोजी गरिरहेको थियो।
उनलाई चन्द्रागिरिस्थित हाइभीजनमा बसिरहेका बेला पक्राउ गरिएको आचार्यले बताए।
ती पुरुषलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौँ पठाइएको छ।