रिब्स माविका संस्थापक डीबी गुरूङका दुई पुस्तक ‘पहाडे केटो : एउटा प्रेरणाको स्रोत’ लोकार्पण

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-०५ स्थित रिब्स माविका संस्थापक समेत रहेका कृषि वैज्ञानिक तथा लेखक डीबी (धनबहादुर) गुरूङले सत्यतथ्य जीवनीको आधारमा तयार पारिएको कृति ‘पहाडे केटो : एउटा प्रेरणाको स्रोत’ भाग १ र २ एकैसाथ सार्वजनिक गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा गत शनिबार साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँलालगायतले ८४ वर्षीय लेखकको पुस्तक लोकार्पण गरेका हुन् ।

इलामको ज्यामिरबोटे जन्मथलो भई हाल चन्द्रागिरि काठमाडौं बस्दै आएका लेखक गुरुङले सानैमा बुवा गुमाएपछि गोठालो हुँदै अध्ययनका क्रममा पश्चिम बंगालको मिरिक, दार्जिलिङ, काठमाडौं हुँदै कोलम्बो प्लानअन्तर्गत भारतको राजस्थानको शैक्षिक यात्रा अनि संयुक्त राष्ट्रसंघको विशेषज्ञ भई अफ्रिकी मुलुक सोमालियासम्म पुगेका अनुभव समेटेका छन् ।

यस्तै दुवै पुस्तकमा २००७ सालअघि अनि पछिको समाजलाई चित्रण गरेका छन् ।

१ हजार २० पृष्ठका दुवै पुस्तकमा दलवीर मुख्यपात्र हुन् ।

उसले कक्षा ७ देखि दार्जिलिङमा पढ्न गरेको संघर्ष सरल र रोचक ढंगले उतारिएको छ ।

२०७१ सालमा ‘मेरो बितेको जीवनकहानी’ पहिलो पुस्तक सार्वजनिक गरेका लेखक गुरूङले त्यसताका ‘नेपाललाई पहाड र भारतलाई मुग्लान’ भनिने जमानाको समाजलाई पुस्तकमा उतारेका छन् ।

दलवीरलाई तिक्ष्ण बुद्धि, अनुशासन, नैतिकवान, बहुप्रतिभाशालीका रुपमा चित्रित गरिएको छ । ‘पुस्तक साहित्यकारले लेखेजस्तो जटिल छैन् । सरल छ,’ विमोचन समारोहमा साहित्यकार काइँलाले भने, ‘मौलिक भाषाको साथले ज्यादै पठनीय पनि छ ।’

विसं २००० आसपासको पूर्वी नेपाल, गाउँका केही ठालुले छोराहरुलाई मुग्लान जस्तै मिरिक, दार्जिलिङ, भुटानसम्म स्कुल पढाउन लैजान्थे । त्यसताका चारखाल्डो भनिने काठमाडौं अथवा नेपाल छिर्न ज्यादै कठिनाइ हुन्थ्यो । त्यो परिवेश अहिलेको पुस्ताका लागि अनौठो लाग्छ । पुस्तकमा नेपाली झर्रो शब्दका साथसाथै दार्जिलिङे लवज, कतै बंगाली, कतै हिन्दी त कतै अंग्रेजी शब्दले वाक्यलाई लालीमा थपेको छ ।

लेखक गुरुङ संस्थापक रहेको रिब्स स्कुलबाट तीन दशकअघि एसएलसी दिएकी पूर्वविद्यार्थी निकुञ्ज नेपालले पुस्तकको भूमिका लेखन निर्वाह गरेकी छन् । ०४१ मा स्थापना भएको रिब्स स्कुल उपत्यकाको पश्चिमी भेगको उत्कृष्ट र ठूलो मध्येको एक संस्थागत विद्यालय मानिन्छ ।

भूमिका लेखनमा रहेकी नेपालले आफू विद्यार्थीकालमा हुँदा यति प्रतिभाशाली प्रधानाध्यापकसँग शिक्षक र विद्यार्थीको मात्रै सम्बन्ध भएको बताउँदै लेखक गुरुङको बहुमुखी प्रतिभासँग अझ नजिक हुन नसकेकोमा थकथकी लागेको बताइन् ।

उनले लेखकसँग भएका थुप्रै अनुभव तथा ज्ञान त्यसताका विद्यार्थीहरुमाझ सार्वजनिक नै नभएको सुनाइन् । आफूमात्रै नभई अरुलाई पनि सक्षम बनाउनुपर्छ भनेर प्रधानाध्यापक गुरुङ लागिपर्ने गरेको उनले उल्लेख गरिन् ।

पुस्तक नयाँ पुस्ताले पढ्नै पर्ने खालको रहेको उनले बताइन् ।

‘देश विदेशमा उच्चकोटीको बौद्धिक र व्यावसायिक सेवा गरेर निखारिएको, आठ दशक नाघेको प्रबुद्ध व्यक्तिले आफ्नो सग्लो अनुभव र कुनै कालखण्डको सामाजिक परिवेशलाई केन्द्रित गरेर पाठकसामु ल्याएको ज्ञानवर्दक पुस्तक पठनीय र संग्रहणीय छ,’ पुस्तकबारे साहित्यकार खेमराज नेपालले भने, इकान्तिपुरमा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *