चन्द्रागिरि हिल्सको कारण चन्द्रागिरि नगर क्षेत्र समृद्ध बनेको छ- चन्द्रप्रसाद ढकाल
थानकोट ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा अहिलेको पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दूस्चक्रमा पार्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी निरुत्साहित हुने र विकास रोकिने कुनै पनि कार्य नगर्न सबैलाई आह्वान गरे ।
‘नेपालका कतिपय क्षेत्रमा अझै पनि विकास र लगानीमा अवरोध पुर्याउने सोच हटेको छैन्। यस किसिमका अवरोधले लगानीमा मात्र नभई देशको समृद्धि र विकासमा समेत नकारात्मक असर पार्छ,’ अध्यक्ष ढकालले भने ।
मुलुकमा विकास पूर्वाधार, विशेषगरी धार्मिक र सांस्कृतिक पर्यटन पूर्वाधार विकासको ठूला सम्भावना रहेको भन्दै ढकालले यसका लागि ठूलो पूँजी आवश्यक पर्ने र त्यसको लागि लगानीको वातावरण बन्नुपर्ने बताएका थिए । ‘हामीले चन्द्रागिरि केबलकार बनाउँदा पनि यस्तै प्रतिरोधको सामना गर्नुपरेको थियो । तर अहिले त्यो क्षेत्र समृद्ध छ । स्थानीयले रोजगारी पाएका छन्, मुलुकले एउटा पर्यटकीय गन्तब्य पाएको छ’ उनले भने ।
ताप्लेजुङमा पाथीभारा मन्दिरमा केबल कार निर्णको क्रममा अवोध भइरहँदा अध्यक्ष ढकालको यस्तो प्रतिक्रिया आएको हो । ढकालले गण्डकी प्रदेश र गैँडाकोटको विकासको सम्भावनालाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिएका थिए । उनले गण्डकी प्रदेशको सम्भावनालाई उजागर गर्न निजी क्षेत्र र सरकारले सहकार्य गर्न आवश्यक रहेको समेत बताएको क्लिक माण्डूमा खबर छ।