आईसीसी यू १९ महिला टी-२० विश्वकप एशिया छनोटः कुवेतमाथि नेपालको स्मरणीय जित
थानकोट ।
नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला ट्वान्टी-२० विश्वकपको एसिया छनोट अन्तर्गतको खेलमा कुवेतविरुद्ध १६५ रनको फराकिलो जित निकालेको छ ।
मंगलबार यूएईको सेभेन डिस्ट्रिक मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले १३ ओभरमा सबै विकेट गुमाएर ४८ रनमात्रै बनाउन सक्यो ।
कुवेतकी जिफा जिलानीले ३२ रन बनाइन् । यसबाहेक, अन्य ब्याटरको प्रदर्शन उल्लेखनीय रहन सकेन । कुवेतलाई सस्तैमा समेट्न नेपालकी कप्तान पूजाले पाँच विकेट लिइन् । पूजाले आफ्नो स्पेनको तेस्रो ओभरमा चार विकेट लिएकी थिइन् । त्यसअघि पूजाको कीर्तिमानी शतकप्रेरित नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो । पूजाले ५७ बलमा १०० रन पूरा गरिन् ।
जारी प्रतियोगितामा कुनै पनि टिमका खेलाडीले बनाएको यो पहिलो शतक हो ।
पूजा नेपाली युवा महिला टिमबाट शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेकी छन् । नेपालको इनिङमा कप्तान पूजाले ६९ बलमा १७ चौकासहित १३० रन बनाइन् । यस्तै, सोनु पाख्रिनले ३३ बलमा दुई चौकासहित ४३ रन बनाइन् । कुवेतकी जिफा जिलानी र राइलिन मारिया डी सुजाले समान एक विकेट लिए ।
चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ र शीर्ष स्थानमा रहने टोली मात्र यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।
हालसम्म खेलिएका सबै खेल जित्दै घरेलु टोली यूएई ८ अंकसहित शीर्ष स्थानमा छ । यूएईले अहिले थाइल्याण्डसँग खेलिरहेको छ।
लिग चरणको अन्तिम खेलमा बुधबार नेपालले यूएईको सामना गर्नेछ ।