आईसीसी यू १९ महिला टी-२० विश्वकप एशिया छनोटः नेपालले कुवेतलाई दियो २१४ रनको लक्ष्य

Thankot Times

थानकोट ।

आईसीसी यू १९ महिला टी-२० विश्वकप एशिया छनोट अन्तर्गतको खेलमा नेपालले कुवेतलाई २१४ रनको लक्ष्य पेश गरेको छ ।

युएईमा जारी प्रतियोगिता अन्तर्गत मंगलबार जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रनको विशाल योगफल तयार गरेको छ।

प्रतियोगिताको इतिहासमा नै पहिलो शतक बनाएकी पूजाले ६९ बलमा १७ चौकाको सहयोगमा नट आउट १ सय ३० रन बनाइन् । प्रतियोगिताको दोस्रो संस्करण जारी रहँदा पहिलो शतक बनेको हो ।

यसअघि प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोरमा गत आइतबार कुवेतविरुद्ध नै युएईकी लाभन्या केन्याले ९९ रन बनाएकी थिईन् । पूजाले ५७ बलमा १२ चौकाको सहयोगमा शतक पूरा गरिन् ।

पूजाको शतक नेपाली महिला टोलीका लागि अन्तर्राष्ट्रिय खेलमा बनेको दोस्रो शतक हो ।

गत फेब्रुअरीमा मलेसियामा भएको एसिसी प्रिमियर कपमा रुबिना क्षेत्रीले माल्दिभ्सविरुद्ध पहिलो शतक बनाएकी थिईन् । यू-१९ महिला क्रिकेटमा भने यो नै पहिलो शतक हो ।

पूजाले नेपाली महिला क्रिकेटको एकै खेलमा बनेको सर्वाधिक रन समेत हो ।

रुबिनाले सोहि खेलमा ५९ बलमा १ सय १८ रन बनाएकी थिइन् ।

सोनी पाख्रिनले ३३ बलमा २ चौकाको सहयोगमा ४३ रन जोडिन् । सावित्री धामीले ११ तथा साना प्रविनले ६ रन जोडिन् । कुवेतका लागि कप्तान जिफा जिलानी र मारिना डि सोजाले समान १ विकेट लिए ।

चार टोली सहभागी छनोट प्रतियोगितामा डबल राउण्ड रोविनका आधारमा खेल भइरहेको छ र शीर्ष स्थानमा रहने टोली मात्र यू-१९ महिला टी-२० विश्वकपमा छनोट हुनेछ ।

हालसम्म खेलिएका सबै खेल जित्दै घरेलु टोली यूएई ८ अंकसहित शीर्ष स्थानमा छ । यूएईले आज थाइल्याण्डसँग खेल्नेछ ।

लिग चरणको अन्तिम खेलमा बुधबार नेपालले यूएईको सामना गर्नेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *