मानव तस्करीमा मुछिए कोशीका कानुनमन्त्री, चन्द्रागिरिका एकसहित चार जना पक्राउ

Thankot Times

थानकोट ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी ठीक एक साताअघि जापान उडेका थिए । चार असम्बन्धित व्यक्तिलाई सँगै लिएर गएका उनको भ्रमणबारे प्रदेश मन्त्रिपरिषद्लाई नै थाहा थिएन ।

प्रदेश सरकार बेखबर रहे पनि जापान सरकारले भने उनको नियत बुझ्यो । मानव तस्करीको आरोपमा ४८ घण्टा केरकार गरेर विमानस्थलबाट फर्काइदिएको छ । मानव तस्करीको विवादमा परेपछि बुधबार उनले राजीनामा दिएका छन् ।

टोकियो आर्ट काउन्सिलको आयोजनामा हुने ‘कल्चर एट होम’ कार्यक्रममा सहभागी हुन अधिकारी कात्तिक १३ मा जापान उडेका थिए । प्रदेशका मन्त्रीले पनि विदेश भ्रमण गर्दा संघीय मन्त्रिपरिषद्बाट स्वीकृति लिनुपर्छ । तर, तत्कालीन मन्त्री अधिकारीले औपचारिक जानकारी नदिएको कोशी प्रदेश सरकारको दावी छ । बरु उनले अनिता तिमल्सिना, जनक राई, दाबा शेर्पा र कञ्चन देवकोटालाई सँगै लिएर गएका थिए । तर, उनीहरू मन्त्रालयसँग साइनो नभएका व्यक्ति हुन् ।

तर, मन्त्रीसँगै गएका चार जनाको कागजपत्र शंकास्पद देखिएपछि जापानको अध्यागमनले करिब ४८ घण्टा विमानस्थलमा राखेको थियो । मन्त्रीसहित पाँचै जनालाई क्याथे प्यासेफिकको उडान नम्बर ६०३ बाट काठमाडौं फर्काइएको थियो । अधिकारी र तिमल्सिनालाई त्रिभुवन विमानस्थल अध्यागमनले सामान्य सोधपुछपछि कागज गराएर छाडेको थियो भने अन्य ३ जनालाई अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाइएको छ ।

अनुसन्धानका क्रममा नुवाकोटका जुगल रिजाल, दोलखाका वीरबहादुर सुनुवार र चन्द्रागिरि बस्ने महेश पाण्डे समातिएका हुन आजकाे कान्तिपुर दैनिकमा खबर छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *