चन्द्रागिरि नगरमा पहिलोपटक ‘अर्केष्ट्रा’ प्रस्तुत, ६० जना संगितकर्मीको सहभागिता

Thankot Times

थानकोट ।

नेपाल सम्वत् ११४५ वर्षारम्भका अवसरमा चन्द्रागिरि नगरपालिका- १०, सतुङ्गल बोसिगाउँमा शनिबार आयोजना भएको न्हू दँ भिंतुना र्याली तथा सांस्कृतिक कार्यक्रममा पहिलोपटक अर्केष्ट्रा प्रस्तुत गरिएको छ ।

नेपाली मौलिक बाजा सम्बन्धमा लामो समयदेखि अध्ध्यन, अनुसन्धान, प्रशिक्षण र अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा प्रस्तुति दिँदै आएका स्थानीय युवा संजय महर्जनको संगित संयोजनमा बोसिगाउँको ज्ञानमाला बाँसुरी खल: तथा साँस्कृतिक संगित प्रतिष्ठानको व्यवस्थापनमा सो प्रस्तुति दिइएको हो ।

नगाँचा बाँसुरी बाजा खल: महादेवस्थान, झिगु सिंर बाजा खल: पुरानो नैकाप, साँस्कृति संरक्षण तथा साँगितिक प्रशिक्षण समिति मच्छेगाउँ, श्री नास: भैरव धिमे खल: चेकपोष्ट तथा श्री भैरव नाय् गुठी बोसिगाउँ, बोसिगाउँ धिमे खल: लगायत चन्द्रागिरि नगरका साँस्कृतिक संगित समुहहरुसँगको सहकार्य अर्केष्ट्रा गरिएको हो ।

बाँसुरी, धिमे, धा, खिं, मादल, ढोलक, नायखिं जस्ता मौलिक बाजाहरु समावेश भएको प्रस्तुतिमा ६० जना संगितकर्मी सहभागी भएका थिए । नेपाली लोक गीत, ऋतु अनुसारको मौसमी गीत, र केही चर्चित आधुनिक गीत बजाइएको अकेष्ट्रा करिब १५ मिनेट चलेको थियो ।

चन्द्रागिरि नगरका विभिन्न साँस्कृतिक संगीत समुहमा प्रशिक्षण दिइरहेका शिव कुमार महर्जनको परिकल्पना तथा विशेष प्रशिक्षणमा प्रस्तुत भएको अर्केष्ट्रामा बाँसुरीमा मनिक महर्जन, सारंगीमा अश्विन महर्जन, खिं मा विशाल महर्जन, धा/ढोलकमा सदन गोपाली, धिमेमा सुजल महर्जन र नायखिं बाजामा प्रकाश शाहीले नेतृत्व गरेका थिए ।

चन्द्रागिरि नगरका विभिन्न साँस्कृतिक समूहबीच सहकार्य गरि नगर क्षेत्र भित्रका लोक संगित र बाजाहरुको प्रचार गर्न र स्थानीय संगीतकर्मीहरुको लागि प्रोत्साहन तथा प्रतिभा देखाउन यस कार्यक्रम आयोजना गरेको संगित संयोजक संजय महर्जनको भनाइ छ ।

नगर क्षेत्रमा क्रियाशील सांगितिक समुहहरूबीच सहकार्य गरि निकट भविष्यमा अरु समूहहरुलाई पनि आवद्ध गरि चन्द्रागिरि नगर कै बृहत अर्केष्ट्रा गर्ने योजना रहेको समेत महर्जनले बताए ।

नेपाल भाषा, कला, संस्कृति संरक्षण तथा प्रवर्द्धन समितिको अगुवाइमा यसवर्ष न्हू दँ समारोह बोसिगाउँमा आयोजना गरिएको हो । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा समारोहमा शुभकामना सभा, साइकल तथा मोटरसाइकल र्याली  विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।

चन्द्रागिरि नगरका विभिन्न ११ गाउँका नेवाः समुदायले वर्षेनी आलो पालो न्हू दँ समारोह आयोजना गर्ने परम्परा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *