संयुक्त राष्ट्रसंघीय विश्व सम्मेलनलाई सम्बोधन गर्न चन्द्रागिरि नगरका मेयर इजिप्ट प्रस्थान
थानकोट ।
चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरी संयुक्त राष्ट्र संघीय विश्व सम्मेलनमा भाग लिन इजिप्ट प्रस्थान गरेका छन् ।
कार्तिक १९ देखि २३ सम्म इजिप्टको कायरोमा संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रम (यूएन हेबिटेट) ले आयोजना गर्ने विश्व शहरी फोरमको १२औं विश्व सम्मेललनमा सहभागिताका लागि मेयर गिरी शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
चन्द्रागिरि नगरका प्रवक्ता एवं वडाध्यक्ष कृष्णप्रसाद खड्गी लगायतले मेयर गिरीलाई बिदाई गरेका थिए ।
सम्मेलनका क्रममा मेयर गिरीले चन्द्रागिरि नगरपालिकाको दिगो विकास लक्ष्य अन्तर्गत स्थानीय स्वेच्छिक मुल्याङ्कन प्रतिवेदन (भीएलआर) को मुख्य सार प्रस्तुत गर्ने बताइएको छ ।
नेपाल सरकार, चन्द्रागिरि नगरपालिका र संयुक्त राष्ट्र मानव बसोबास कार्यक्रम (यूएन हेबिटेट)को सहकार्यमा करिब १ वर्षको तयारीपछि सो प्रतिवेदन तयार पारिएको हो ।
गत असोज २२ गते उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह, राष्ट्रिय योजना आयोगका सदस्य डा.रमेशप्रसाद सिंह, संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हन्ना सिगर हाम्दी लगायतको उपस्थितिमा नगरप्रमुख घनश्याम गिरीले विश्व बसोबास दिवसका अवसरमा आयोजित कार्यक्रममा ‘भिएलआर’ प्रतिवेदन सार्वजनिक गरेका थिए।
कायरोमा हुने सम्मेलनलाई एशिया महाद्विपबाट एक जना मेयरले सम्बोधन गर्ने र सो अवसर नेपालले पाएको छ । जसमा चन्द्रागिरि नगरपालिका छनोट भएको हो ।
नगरप्रमुख गिरी अर्को साता स्वदेश फर्कने तालिका रहेको नरप्रमुखको सचिवालयले जनाएको छ ।