सतुङ्गल बोसिगाउँमा नेपाल संवत‍्को उत्सव

Thankot Times

थानकोट ।

नेपाल संवत् को नयाँ वर्ष स्वागतमा नेवार समुदायले शनिबार बिहानै देखि देशभर सांस्कृतिक पहिरनसहित र्‍याली निकालेका छन् । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

यस संवत् लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुआत गराएकाका थिए। पृथ्वीनारायण शाहको शासनकालसम्म नेपाल संवत्ले राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रूपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो”, उनले भने ।

वि.सं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको थियो । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य स्थानमा विशेष रूपमा मनाउने गरिन्छ ।

नयाँ वर्षका अवसरमा चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल बोसिगाउँमा शुभकामना सभा आयोजना गरिएको छ । सभामा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ, वडा नं. १० का वडाध्यक्ष शीवकुमार महर्जन, नगरका अन्य जनप्रतिनिधिहरू, विभिन्न गुठीका अगुवाहरू, विभिन्न बाजा समुहका प्रतिनिधिहरू लगायत नगरका हजाराैं नागरिकहरूको उपस्थितिमा अहिले शुभकामना सभा जारी छ ।

नेपाल भाषा, कला, संस्कृति संरक्षण तथा प्रवर्द्धन समितिको अगुवाइमा यसवर्ष न्हूदँको कार्यक्रम बोसिगाउँमा जारी रहेको हो ।

शुभकामना सभापछि अहिले हजाराैं मोटरसाइकल तथा साइकल भिन्तुना र्यालीमा निस्किएका छन् ।

नगरका सबै वडा परिक्रमा गरी सो र्याली बोसिगाउँमै पुगेर समापन हुनेछ, यद्यपी सांस्कृतिक कार्यक्रम भने दिनभर जारी रहने वडाध्यक्ष शीवकुमार महर्जनले बताए । र्याली व्यवस्थापनमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, चन्द्रागिरि नगर प्रहरी, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा स्वयंसेवकहरू खटिएका छन् ।

चन्द्रागिरि नगरका विभिन्न ११ वटा नेवाः बस्तीले वर्षेनी पालैपालो नेपाल संवत् स्वागत कार्यक्रम आयोजना गर्दै आएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *