कीर्तिपुरको मेयरका लागि नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धर उम्मेदवार सिफारिस

Thankot Times

थानकोट ।

मंसिर १६ मा कीर्तिपुर नगरपालिकामा हुने नगरप्रमुख पदको उपनिर्वाचनका लागि नेकपा एमालेले डा. सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाउन सिफारिस गरेको छ ।

एमाले केन्द्रीय सदस्यसमेत रहेको मानन्धर मेयरको उम्मेदवारको लागि सर्वसम्मत सिफारिस भएका हुन्।

मानन्धर एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्र १० को अध्यक्षसमेत हुन् ।

कीर्तिपुरमा राप्रपाबाट धुर्व महर्जन मेयरको उम्मेदवार सिफारिस भएका छन् ।

अन्य राजनीतिक दलले भने अझै उम्मेदवार टुंगाउन सकेका छैनन् ।

निर्वाचन आयोगले मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता गराउनुपर्नेछ कार्यतालिका निर्धारण गरेको छ ।

बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरिने र त्यही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।

उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको छ ।

मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

मतदान सुरु हुनु ४८ घण्टा अगाडि अर्थात् मंसिर १३ गते राति १२ बजेपछि प्रचारप्रसार निषेध अवधि लागू हुने आयोगले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *