पार्टी केन्द्रको नीति अनुसार नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको कार्यालय स्थानान्तरण
थानकोट ।
नेकपा एमाले चन्द्रागिरि नगर कमिटीको कार्यालय स्थानान्तरण गरिएको छ ।
यसअघि चन्द्रागिरि नगरपालिका-११ सतुङ्गलमा कार्यालय राखेको नेकपा एमाले चन्द्रागिरि नगर कमिटीले बिहीबारबाट चन्द्रागिरि नगरपालिका-५ मा कार्यालय स्थानान्तरण गरेको हो ।
नेपाल टेलिकमको बलम्बु एक्सचेन्ज कार्यालयनजिकै भाडाको घरमा नेकपा एमालेको चन्द्रागिरि नगर कमिटी कार्यालय स्थानान्तरण भएको छ ।
नेकपा एमालेका नेता तथा संघीय सांसद् कृष्ण गोपाल श्रेष्ठले सो पार्टीको चन्द्रागिरि नगर कमिटीको कार्यालयको उद्घाटन गरेका हुन् ।
सो क्रममा नेकपा एमालेका नेताहरू आनन्द पोखरेल, अजय क्रान्ति शाक्य लगायतको उपस्थिति रहेको थियो ।
यसअघि सतुङ्गलस्थित कार्यालयमा रहेका व्यवस्थापकीय सामाग्रीहरू नयाँ कार्यालयमा स्थानान्तरण गरिएको नेकपा एमाले चन्द्रागिरि नगर कमिटी अध्यक्ष ईञ्जिनियर उत्तम बहादुर राउतले जानकारी दिए ।
अध्यक्ष राउतका अनुसार पार्टी केन्द्रको नीति अनुसार नगर पार्टी कार्यालय स्थानान्तरण गरिएको हो ।
नेकपा एमालेले देशभरका कार्यालयहरू सम्भव भएसम्म मुख्य राजमार्ग क्षेत्रमा र स्थानीय पालिकाको केन्द्रनजिकै राख्न निर्देशन दिएको बताइएको छ ।
सतुङ्गलस्थित कार्यालय साँघुरो भएका कारण समेत दुरसञ्चार क्षेत्रमा स्थानान्तरण गरिएको अध्यक्ष राउतको भनाइ छ।
चन्द्रागिरि नगरमा नेकपा एमालेका १ हजार १ सय ४२ जना संगठित सदस्य रहेका छन् ।