बागमती प्रदेशमा ११ महिनामा ४२ प्रतिशतमात्र बजेट खर्च

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा कुल बजेटको आधा पनि खर्च गर्न सकेको छैन । प्रदेश सरकारको विभिन्न निकायले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा कुल बजेटको ४२ दशमलव ४२ प्रतिशतमात्र खर्च गरेका छन् ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ५७ अर्ब ७२ करोड ९ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । त्यसमध्ये जेठसम्म सरकारका विभिन्न मन्त्रालय र निकायले २४ अर्ब ४८ करोड ९८ लाख रुपैयाँमात्र खर्च गरेका छन् । यो कुल बजेटको ४२ दशमलव ४२ प्रतिशत हुन आउँछ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि विनियोजन गरेको कुल बजेटमध्ये चालु खर्चतर्फ ४६ दशमलव ८२ प्रतिशत खर्च गरेको छ भने पुँजीगततर्फ ३६ दशमलव ५८ प्रतिशत र वित्तीयतर्फ ६५ प्रतिशत खर्च गरेको छ ।

प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि चालु खर्चतर्फ २६ अर्ब १६ करोड ६६ लाख रुपैयाँ विनियोजन गरेको थियो भने पुँजीगततर्फ २९ अर्ब ७० करोड ४३ लाख रुपैयाँ र वित्तीय तर्फ २ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।

प्रदेश सरकारले विगतको तुलनमा यस वर्ष बजेट खर्च बढेको उल्लेख गरे पनि सन्तोषजनक भने हुन सकेको छैन । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष २७.३६ प्रतिशतले बजेट खर्च वृद्धि भएको जनाएको छ । यही असार मसान्तसम्ममा कुल बजेटको ७० प्रतिशत खर्च गर्ने प्रदेश सरकारको अनुमान छ ।

प्रदेश सरकारले बजेट खर्च बढाउन विषयगत मन्त्रालय निर्माण गरे पनि त्यसको प्रभावकारिता भने देखिएको छैन । प्रदेश सरकारले बजेट खर्च बढाएर समृद्ध प्रदेश बनाउनका लागि ७ मन्त्रालय विभाजन गरेर १४ पु¥याउँदा समेत वित्तीय प्रगतिमा भने सुधार आएको छैन् ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *