थानकोट-चन्द्रागिरि ऐतिहासिक पदमार्गको सरसफाइ सम्पन्न
थानकोट ।
काँधमा मोटर बोकेर थानकोट ल्याइएको ऐतिहासिक पदमार्ग सरसफाइ गरिएको छ ।
चन्द्रागिरि नगरपालिका वडा नं. ४ थानकोटको आयोजनामा नेपाली सेनाको उपत्यका पृतना तालिम शिक्षालय र चन्द्रागिरि हाइकर्स कम्युनिटीको सहकार्यमा पानीघाट देखि चन्द्रागिरि भञ्ज्याङसम्मको पदमार्ग बुधबार बिहान सफाइ गरिएको हो।
सो क्रममा चन्द्रागिरि नगरपालिका वडा नं. ४ का जनप्रतिनिधिहरू, नेपाली सेनाको उपत्यका पृतना तालिम शिक्षालयमा रहेका नेपाली सेनाका अधिकारीहरू, चन्द्रागिरि हाइकर्स कम्युनिटीका सदस्यहरू, स्थानीय समाजसेवी तथा स्थानीय बासीको बाक्लो उपस्थिति रहेको थियो ।
सरसफाइका क्रममा पदमार्ग क्षेत्रमा भएका प्लास्टिक, रुखका हाँगाबिँगा तथा झार लगायत संकलन गरिएको थियो ।
२०१३ सालसम्म भीमफेदी-चित्लाङ-चन्द्रागिरि हुँदै थानकोट गोदामचाैरसम्म भरियाले काँधमा मोटर कार बोकेर काठमााडाैं भित्र्याउने गरेका थिए । त्रिभुवन राजपथ निर्माण भएसँगै मानिसको काँधमा मोटर कार राखेर बोक्नुपर्ने क्रम भंग भएको थियो ।
मोटर कार बोकेर ल्याइएको सडक चन्द्रागिरि नगरपालिकाले गतवर्ष थानकोट-चन्द्रागिरि भन्ज्याङ पदमार्ग नामाकरण गरि स्तरोन्नति गरेको थियो।
करिब ३ किलोमिटर लामो सो पदमार्ग चन्द्रागिरि नगरपालिका-४ थानकोट पानीघाटबाट सुरू हुँदै चन्द्रागिरि भन्ज्याङसम्म पुग्दछ ।